सवा करोड खर्चेर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने

काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ), नेपालय इन्टरनेशनल र निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले संयुक्त रूपमा राष्ट्रिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०८२ आयोजना गर्ने घोषणा गरेका छन्।

काठमाडौंमा पत्रकार सम्मेलन गरी जिल्ला छनोट भदौ २० गते, प्रदेश छनोट कार्तिक १६–२३ र केन्द्रीय प्रतियोगिताको ग्रान्ड फिनाले मङ्सिर ५–७ मा काठमाडौंमा हुने कार्यतालिका प्रस्तुत गरिएको छ ।

प्रतियोगिताको सञ्चालन विधि, नियम र प्रश्न व्यवस्थापन आइएसएफ एकेडेमी नेपालमार्फत हुनेछ।

जिल्ला स्तरमा ७७ वटै जिल्लाका पाँच हजारभन्दा बढी विद्यालयका १० हजार विद्यार्थी सहभागी हुनेछन्।

आयोजकहरूका अनुसार सामुदायिकदेखि निजी विद्यालयसम्मका विद्यार्थीलाई प्रतिस्पर्धा गर्ने समान अवसर दिइनेछ। ग्रामीण र शहरी दुवै क्षेत्रमा अध्ययनरत विद्यार्थीको प्रतिभा उजागर गर्ने लक्ष्य राखिएको छ।

प्रतियोगितामा विजेता टोलीलाई महिला/पुरुष दुबै वर्गमा दुई स्कुटर र गिफ्ट ह्याम्पर, उपविजेतालाई दुई ल्यापटप र गिफ्ट ह्याम्पर, तेस्रो स्थानलाई दुई मोबाइल र गिफ्ट ह्याम्पर, चौथो स्थानलाई दुई ट्याबलोइड र गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ।

फाइनलमा पुगेका सबै टोलीलाई प्रमाणपत्र, ट्रफी र मेडल दिइने बताइएकी छ । साथै छात्रवृत्ति, शैक्षिक सुविधा, उत्कृष्ट क्विज मास्टर, प्रतिभाशाली विद्यार्थी र आयोजक जिल्लालाई विशेष सम्मान गरिनेछ।

नेपालयका अध्यक्ष सुवास प्रधान र नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले स्कुल प्रिमियर लिगको मोडेलमा प्रतियोगिता सञ्चालन गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। प्रतियोगिताको कुल अनुमानित खर्च १ करोड २४ लाख ५० हजार रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।