सिन्धुलीका युवराज ‘सफल’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना उच्च पदस्थ व्यक्तिहरूविरुद्ध गम्भीर आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन् ।
उनले जिल्ला प्रहरी परिसर, काठमाडौँमा हुलाकमार्फत उजुरी पठाएका हुन्, जसमा पदको दुरुपयोग गर्दै मानव तस्करी जस्तो संगीन अपराधमा संलग्न भएको जिकिर गरिएको छ ।
उक्त उजुरीमा वर्तमान प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक, उपसभामुख इन्दिरा राना, पूर्व गृहमन्त्रीहरू सहित पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालको समेत प्रतिवादीको रूपमा नाम उल्लेख गरिएको छ ।
उजुरीमा शक्तिको दुरुपयोग गर्दै उच्चपदस्थ व्यक्तिहरूको संरक्षणमा मानव तस्करी हुँदै आएको दाबी गर्दै, सम्पूर्ण अभियुक्तलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग गरिएको छ ।
यसअघि पनि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराइसकेका छन् । तर अपेक्षित कारबाही नहुँदा प्रहरीमार्फत औपचारिक प्रक्रिया अघि बढाएको बताइएको छ । प्रहरी उच्च श्रोतले भने उजुरी दर्ता नै हुन नसक्ने जनाएको छ ।







