भण्डारी अधैर्य भएको महासचिव पोखरेलको भनाइ

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राखेको बिषय कल्पना भन्दा बाहिर रहेको जनाएका छन् ।

बुधबार जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा महासचिव पोखरेलले नेपालको राजनीति र ट्रेड युनियन आन्दोलन विषयमा प्रशिक्षण कार्यक्रममा यस्तो बताएका हुन् ।

राष्ट्रपति बनाउने समयमा भने उमेर र क्रियाशीलका हिसावले नेतृ विद्यादेवी भण्डारी उपयुक्त नहुने आफुले कुरा राखेको महासचिव पोखरेलले स्मरण गरेका छन् ।

भण्डारीको निवासमै गएर राष्ट्रपतिमा तपाईले इच्छा नगर्दा राम्रो हुने भन्दै सल्लाहसमेत दिएको उनले स्मरण गरे । “तर, पार्टीले सर्वसम्मत निर्णय गरेपछि उहाँ राष्ट्रपति बन्नुभयो ।” उनले तत्कालीन परिबेश प्रष्ट पारे ।

‘अहिले दुई कार्यकाल राष्ट्रपति भएर पुनः राजनीतिमा फर्किनु होला भन्ने लागेकै थिएन, तर वहाँमा त्यो धैर्यता देखिएन’ उनले भने ।

पोखरेलका अनुसार पार्टीको नवौं केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार भण्डारी अब सम्मानित भएर बस्नुपर्छ । ‘पार्टीको दृष्टिकोण त्यही हो वहाँले पार्टीको नीति र निर्णलाई मनन गर्नुहुनेछ, पार्टी पद्धतिको पालना गर्नु हुनेछ भन्ने विश्वास ब्यक्त छ,’ उनले भने ।