माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ, सरकारको उपलब्धि घुसकाण्ड मात्र भएको आरोप

REKHA SHARMA
REKHA SHARMA

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा र नियुक्तिमा घुसको डिल गरेको आरोप लागेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले तत्काल छानबिन गर्न माग गरेको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै माओवादी केन्द्रकी सांसद रेखा शर्माले मन्त्री गुप्ताको नाम जोडिएको घुस प्रकरणबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने बताइन् ।

उनले भनिन्, “कर्मचारी सरुवाको नाममा मन्त्रीहरूले ७८ लाख रुपैयाँसम्म घुसको डिल गरेको विवरण सार्वजनिक भएको छ । यो गम्भीर विषय हो । अब प्रधानमन्त्रीकै तर्फबाट संसदलाई सत्यतथ्य बताइनुपर्छ । दोषी जो भए पनि कानून अनुसार कडा कारबाही होस् । नभए सरकारले एक वर्षमा गरेको उपलब्धि यही घुसकाण्ड हुनेछ ।”

सांसद शर्माले मन्त्रीस्तरमै यस्ता भ्रष्टाचारका आरोप आउनु गम्भीर विषय भएको बताउँदै यथाशीघ्र निष्पक्ष छानबिन र पारदर्शी कार्यवाहीको माग गरिन् ।