बाटोमा स्पष्टीकरण दिदैँ प्रधानमन्त्री भन्छन्, “स्पेनमा मान्छे छोड्यो भन्नेलाई जवाफ दिनु जरुरी छैन”

KP sharma oli
KP sharma oli

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे झुटा र आधारहीन प्रचार गरिएको बताएका छन् । उनले “स्पेनमा मान्छे छाडेर आयो” भन्ने जस्ता हल्ला केही विरोधी र अराजक तत्वबाट फैलाइएको दाबी गर्दै यस्ता कुराको जवाफ दिन आवश्यक नरहेको टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका थिए । विश्व बैंकको सहयोगमा सम्पन्न ४.८६ किलोमिटर लामो सो सडक १७ वटा राष्ट्रिय स्तरका छानिएका सडकहरूमध्ये एक हो । झन्डै ४४ करोड २४ लाख लागतमा समयमै सम्पन्न भएको यस आयोजनालाई नमूना सडकका रूपमा लिइएको छ ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले मेचीदेखि महाकालीसम्म विकासका काम तीव्र रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा समेत गरे ।

एसईई परीक्षाको नतिजामा १३ प्रतिशतले सुधार आएको उल्लेख गर्दै उनले स्वयंसेवी भावनामा आधारित नि:शुल्क अनलाइन कक्षाहरूले शिक्षा क्षेत्रमा सुधार ल्याएको बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्रीहरू शेरधन राई, उद्वव थापा लगायतको उपस्थिति रहेको थियो ।