वीरगञ्जमा सुरक्षित गर्भपतनका लागि ‘युवा पहुँच परियोजना’

वीरगञ्ज । वीरगञ्जमा किशोर तथा युवामाझ सुरक्षित गर्भपतनसम्बन्धी सेवा र जानकारी विस्तार गर्ने उद्देश्यले ‘युवा पहुँच परियोजना’ सञ्चालनमा आएको छ। विशेषगरी १५ देखि २४ वर्ष उमेर समूहका किशोर–किशोरी र युवालाई लक्षित गर्दै यो परियोजना विद्यालय, कलेज र समुदायस्तरमा सक्रिय रूपमा काम गरिरहेको छ।

परियोजनाले सुरक्षित गर्भपतन, यौन शिक्षा, असुरक्षित गर्भपतनको जोखिम र उपलब्ध निःशुल्क सेवाबारे सचेतना फैलाइरहेको छ। युवामैत्री परामर्श सेवा, निःशुल्क गर्भनिरोधक सामग्री वितरण र आवश्यक परे सुरक्षित गर्भपतन सेवा पनि प्रदान गरिँदै आएको छ।

युवा संस्थाका वीरगञ्ज संयोजक आसु सर्राफका अनुसार, “युवालाई समयमै सही निर्णय लिन सकून् भनेर परियोजना सञ्चालनमा ल्याइएको हो। समुदायमा रहेको भ्रम र लाजको वातावरण तोड्ने काम पनि परियोजनाले गरिरहेको छ।”

नारायणी अस्पतालकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मञ्जु रायका अनुसार, “परियोजनापछिको प्रभाव सकारात्मक देखिएको छ। किशोरीहरू अब सरकारी अस्पतालमा सुरक्षित गर्भपतनका लागि खुलस्तरूपमा आउन थालेका छन्।”

परियोजनाले हालसम्म ४० जना युवालाई ‘युवा च्याम्पियन’का रूपमा तयार पारेर उनीहरूमार्फत १५०० भन्दा बढी किशोर–किशोरी र युवालाई जानकारी दिइएको छ। साथै, ६ जना अनमीलाई मेडिकल गर्भपतनसम्बन्धी विशेष तालिम र ५० जना स्वास्थ्यकर्मीलाई दृष्टिकोण रूपान्तरण तालिम प्रदान गरिएको छ।

कार्यक्रम संयोजक विपना श्रेष्ठका अनुसार, वीरगञ्जमा सुरक्षित सेवामा पहुँचको अभाव, सामाजिक कलंक र जानकारीको कमीका कारण धेरै महिला अझै पनि असुरक्षित गर्भपतनमा धकेलिएका छन्। त्यसैले समुदायमै पुगेर परियोजनाले तालिम र सचेतनामूलक गतिविधि सञ्चालन गरिरहेको हो।

युवा संस्था सन् २००९ मा औपचारिक रूपमा स्थापना भए पनि यसको टिम सन् २००५ देखि नै युवासम्बन्धी क्षेत्रमा सक्रिय रहँदै आएको छ। संस्था युवाको सशक्तिकरण र सहभागिता प्रवर्द्धन गर्दै आएको छ।

निकट भविष्यमा वीरगञ्जका विभिन्न वडामा मोबाइल हेल्थ क्याम्प सञ्चालन गरिने र ती क्याम्पमा निःशुल्क सेवा तथा परामर्श उपलब्ध गराइने संस्थाले जनाएको छ।