भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–६, फेदीमा शुक्रबार बिहान गएको पहिरोले पुरिँदा दुई गाई र एक बाच्छीको मृत्यु भएको छ।
अविरल वर्षाका कारण शुक्रबार बिहान करिब ४:४५ बजे सहदेव लामिछाने र रामकुमार लामिछानेको ढुङ्गामाटोले बनेको, जस्ताले छाएको दुई तले कच्ची गाईगोठमा माथिबाट पहिरो खस्दा उक्त क्षति भएको हो।
गोठमा बाँधिएको चार गाई र एक बाच्छी पहिरोले पुरिएको थियो। उद्धारका क्रममा बिहान साढे ७ बजे नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा दुई गाईलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
उक्त घटनामा मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिएका छन्।