काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकाको यात्रालाई सहज बनाउने लक्ष्यसहित निर्माणाधीन सिस्नेखोला–नागढुंगा सुरुङमार्गको मुख्य टनेलको निर्माण कार्य सम्पन्न भएसँगै सुरुङ सञ्चालनअघि आवश्यक प्राविधिक परीक्षण (फेसिलिटेट टेस्टिङ) सुरु गरिएको छ।
२६८८ मिटर लामो मुख्य टनेलमा अत्याधुनिक कन्टिन्युअस्ली रिइन्फोर्स्ड कंक्रिट पेवमेन्ट (सीआरसीपी) प्रविधिबाट कंक्रिट कार्य सम्पन्न भइसकेको छ। नेपालमा यो प्रविधि पहिलोपटक प्रयोग गरिएको हो। परियोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार अब सुरुङभित्र विद्युत, सिसिटिभी, अग्नि नियन्त्रण, अक्सिजनयुक्त भेन्टिलेसन, टेलिफोनलगायत प्रणालीको परीक्षण गरिनेछ।
‘मुख्य सुरुङभित्रको निर्माण सकिएपछि एक हप्ताअघि विद्युत जडान गरी आवश्यक उपकरण चार्ज भइसकेका छन्,’ इन्जिनियर पन्थीले भने, ‘अब अन्य पूर्वपरीक्षणहरु सुरु हुन्छन्, सफल भएपछि सवारीसाधन परीक्षणसमेत गरेर मात्रै सुरुङ सञ्चालनमा ल्याइनेछ।’
परियोजनामा प्रयोग भएको सीआरसीपी प्रविधिले सुरुङलाई थप स्थायीत्व प्रदान गर्ने बताइएको छ। रेस्क्यु टनेल र क्रस प्यासेजहरु भने रिइन्फोर्स्ड कंक्रिट पेवमेन्ट (आरसीपी) प्रविधिबाट निर्माण भइरहेको छ। २५५७ मिटर लामो रेस्क्यु टनेल २२ साउन ०८० मा छिचोलिएको थियो।
निर्माण अन्तिम चरणमा
हालसम्म २७९६ मिटरमध्ये २१०४ मिटर सडक कंक्रिट भइसकेको छ। बाँकी ६९२ मिटर निर्माणको काम अन्तिम चरणमा पुगेको छ। त्यस्तै, राजमार्ग र सुरुङलाई जोड्ने सडकमा ७९९६ मिटर कंक्रिट सकिएको छ भने २००९ मिटर कंक्रिट गर्न बाँकी छ।
बलम्बुस्थित १२८ मिटर लामो फ्लाई ओभरको निर्माण पनि अन्तिम चरणमा पुगेको छ। परियोजनाअन्तर्गतका तीन अन्डरपास, चार बक्स कल्भर्ट, एक अन्डरपास र तीनवटा पुलको निर्माण सम्पन्न भइसकेको छ।
परियोजनाको हालको भौतिक प्रगति ८९.१ प्रतिशत र सुरुङ मार्गको प्रगति ९८ प्रतिशत पुगेको छ। जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले पुस २०७७ मा सुरुङ निर्माण सुरु गरेको थियो। साढे चार वर्षमा वित्तीय प्रगति ७८.७ प्रतिशत पुगेको छ।
टोल ट्याक्स प्रस्ताव स्वीकृति प्रक्रियामा
सुरुङमार्ग सञ्चालनको तयारीस्वरूप सडक बोर्डले टोल ट्याक्स प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिसकेको छ। टोल ट्याक्स शुल्क कति राख्ने भनेर मन्त्रिपरिषद्ले निर्णय लिनेछ ।इन्जिनियर पन्थीका अनुसार सुरुङमार्ग सुरुका तीन महिना ट्रायलका रूपमा निःशुल्क सञ्चालन गरिनेछ। त्यसपछि टोल ट्याक्स लागु हुनेछ। साना गाडी (कार, भ्यान, पिकअप, माइक्रो बसलगायत)लाई सुरुङबाट उपत्यका भित्रिँदा ७५ रुपैयाँ र बाहिरिँदा ५० रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । टिपर, मिनी बस र मिनी ट्रकलाई उपत्यका भित्रिँदा एक सय २५ रुपैयाँ र उपत्यकाबाट बहिरिँदा एक सय रुपैयाँ शुल्क लाग्ने प्रस्ताव गरिएको छ ।
यसैगरी बस र ट्रकलाई उपत्यका भित्रिँदा दुई सय ५० रुपैयाँ र बाहिरिँदा दुई सय रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । यसैगरी, लरी (हेभी सवारी)लाई उपत्यका भित्रिँदा पाँच सय रुपैयाँ र बाहिरिँदा तीन सय रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । मोटरसाइकलजस्ता दुईपांग्रे र तीनपांग्रे सवारीसाधनलाई भने सुरुङ प्रवेशमा निषेध गरिएको छ ।
पुसदेखि सञ्चालनमा ल्याउने तयारी
इन्जिनियर पन्थीका अनुसार आगामी पुस महिनाबाट सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। कात्तिकसम्म सबै निर्माण कार्य सकिनेछ भने सोही समयमा अन्तर्राष्ट्रिय सेवा प्रदायक कम्पनीमार्फत सुरुङ सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइनेछ। अहिले सेवा प्रदायक छनोटका लागि बिड डकुमेन्ट तयार पारिँदैछ।