नेपाललाई आँखा उपचार तालिमको हब बनाउने लक्ष

काठमाडौ । नेपाल नेत्रज्योति संघ र अर्विस इन्टरनेशनबीच नेपाललाई आँखा उपचार तालिम हब बनाउने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यो परियोजना अन्तर्गत क्लिनिकल, पारामेडिक्स, व्यवस्थापन तथा प्रशासनिक क्षेत्रका जनशक्तिलाई डिजिटल माध्यमबाट तालिम दिइनेछ।

सम्झौताअनुसार सहभागीहरूले मोतिबिन्दु, जलबिन्दु, भिट्रियो रेटिना, अप्ट्रोमेट्री साइन्स, आँखा स्वास्थ्य कार्यक्रम व्यवस्थापन लगायतका क्षेत्रमा अत्याधुनिक प्रविधिबाट तालिम पाउनेछन्। तालिमहरू स्यान्डबीच ब्लेन्डेड लर्निङ्ग एप्रोचमा हुनेछ।

बिराटनगर आँखा अस्पतालमा तालिमका लागि आवश्यक संरचना तयार भइसकेको र आगामी दिनमा भैरहवाको श्री रणअम्बिका शाह आँखा अस्पतालमा परियोजना विस्तार गरिने बताइएको छ।

यो तालिम नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत सञ्चालन गरिनेछ। तालिमको अवधि १ हप्ता देखि २ वर्षसम्मको हुनेछ। 

संघले २८ आँखा अस्पताल, २ सय २४ उपचार केन्द्र र ४४ जिल्ला शाखाहरुको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको र ५३ लाख ९२ हजार २ सय २४ जनाको आँखाको शल्यक्रिया भइसकेको संघका संचार ब्यवस्थापक कृष्ण भट्टराईले जनाएका छन् ।