मुकेश कुमार यादव, सिरहा । सिरहाको एक निजी विद्यालयमा शिक्षकको कुटाइबाट एक जना विद्यार्थी घाइते भएका छन्।
गोलबजार नगरपालिका–७, चोहर्वास्थित एपेक्स विद्या मन्दिरका शिक्षक सन्तोष गुप्ताले कक्षा ८ मा अध्ययनरत नरहा गाउँपालिका–३, खोरीयाका १३ वर्षीय अविनाश यादवलाई निर्घात कुटपिट गरेका हुन्। अविनाश सुरेश यादवका छोरा हुन्।
परिवारजनका अनुसार, कक्षाकोठामा पढाइ भइरहेका बेला शिक्षक गुप्ताले अविनाशलाई अर्को कोठामा लगेर बाँसको लठ्ठीले कुटपिट गरेका थिए। कुटाइबाट अविनाशको शरीरका विभिन्न भागमा चोट लागेको छ।
हाल घाइते विद्यार्थीको गोलबजारस्थित वर्धमान अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्द साहले जनाएका छन्।
उनका अनुसार शिक्षक सन्तोष गुप्तालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको छ। साहले भने, “कुटपिटमा संलग्न शिक्षकमाथि कानुनअनुसार कारवाही प्रक्रिया अघि बढाइएको छ।”
अविनाशका अभिभावकले शिक्षकलाई कडा कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका छन्।