डाक्टरको लापरबाहीका कारण बालकको ज्यान गएको भन्दै प्रादेशिक अस्पतालमा तालाबन्दी

प्रादेशिक अस्पताल सिरहामा डाक्टरको लापरबाहीका कारण एकजना  बालकको ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।

उपचारका लागि गएका सिरहा नगरपालिका ६ बस्पिट्टाका १० वर्षीय राजन महराको ज्यान गएको हो। 

डाक्टरकै लापरबाहीले मृत्यु भएको भन्दै उनका परिवार र आफन्तजनले अस्पताल घेराउ गरेका छन । 

बालकको मृत्युपछि आक्रोशित बनेका आफन्तले चिकित्सकको लापरवाहीका कारण ज्यान गएको आरोप लगाउँदै प्रादेशिक अस्पतालमा होहल्ला तथा तालाबन्दी समेत गरेका हुन् ।

उनीहरुले अस्पताल प्रशासनसँग न्यायको माग गर्दै लामो समयसम्म नाराबाजी गरेका थिए ।

राजन महरालाई लामो समय देखि ज्वरो लागेर उपचारको लागि अस्पताल पुर्‍याइएको थियो  तर  चिकित्सकले समयमा उचित उपचार नगरेकै कारण महराको मृत्यु भएको परिवारजनको आरोप छ ।

“समयमै डाक्टर आएर उपचार गरेको भए हाम्रो बच्चा बच्थ्यो”,  मृतकका एक आफन्तले भने, “घण्टौंसम्म डाक्टर नआएपछि हामी आफै भित्र गयौं, त्यतिबेला सम्म बच्चाको अवस्था एकदमै  गम्भीर भइसकेको थियो ।”

मृतक बालकको शव हाल पनि अस्पतालमै राखिएको छ।

घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। अस्पताल प्रशासनले घटनाबारे छानबिन भइरहेको जनाएको छ ।