नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित

काठमाडौ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा उमेश स्थापित निर्वाचित भएका छन् । काठमाडौमा सम्पन्न तेस्रो सम्मेलनले स्थापितलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

आइतबार कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न सम्मेलनले उमेश स्थापितको अध्यक्षतामा १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको निवर्तमान महासचिव देवेन्द्र श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेश सभा सदस्य समेत रहेका महासचिव श्रेष्ठले नेतृत्वको दावी नगरेपछि अध्यक्ष पदमा स्थापित सर्वसम्मत भएका थिए । स्थापित अघिल्लो कार्यकालमा सचिव थिए । उनी काठमाडौ जिल्लाबासी हुन् ।

यस अघि किर्तिपुरका नेता पूर्व राज्यमन्त्री समेत रहेका दिलिप महर्जन मोर्चाको अध्यक्ष रहेका थिए ।

नयाँ कार्यसमितिमा नेवा: बाहुल्य भएका प्रत्येक जिल्लाले उपाध्यक्ष पाएका नवनिर्वाचित केन्द्रीय सदस्य नरेश रन्जितले बताएका हुन् । कार्यसमितिमा २३ पदाधिकारी रहेका उनले जानकारी गराए ।

बन्द सत्र नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रदेश इन्चार्ज हितमान शाक्य लगायतको आतिथ्यता रहेको थियो ।

सम्मेलनको उद्घाटन भने शनिबार बसन्तपुरमा पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका थिए ।

सो अवसरमा अध्यक्ष प्रचण्डले राजनीतिक सम्झौता गर्दा जनसम्बन्ध कमजोर भएको र त्यसको परिणाम पनि राम्रो नआएको उल्लेख गर्दै जनयुद्धको एजेन्डा समातेर आफूहरू आत्मालोचना सहित आफ्नै वर्ग,जाति,समुदाय र जनतातर्फ फर्किएको उद्घोष गरेका थिए ।

उनले नेवा: शक्तिलाई परिवर्तन सस्थागत गर्न र उत्पीडितहरुको अधिकार रक्षा गर्दै थप अधिकारको लागि अघि बढ्न अभिप्रेरित गरेका थिए ।