बर्दिया । एकताको अन्तिम तयारीमा रहेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले एकतापछि हुने पार्टीको नाम, चुनाव चिह्न र पदमा समेत सहमति जुटाएका छन् ।
आइतबार बर्दियाको मधुवनमा बसेको संयुक्त एकता कार्यदलको बैठकमा एकतापछिको पार्टीको नाम, चुनाव चिह्न र पदाधिकारीमा सहमति भएको हो।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकतापछि पार्टीको संरक्षक रेशम चौधरी, कार्यकारी अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठलाई तेस्रो वरीयता दिने बताए।
एकतापछिको पार्टीको नाम नागरिक जनमत पार्टी राख्ने पनि सहमति भएको जनाइएको छ। त्यस्तै चुनाव चिह्न ढकिया रहने र पार्टीको झण्डा कलेजी रङगमा ढकिया रहने सहमति कार्यदलमा भएको छ।
प्रतिनिधि सभामा जनमत पार्टीका ६ सांसद छन्। यस्तै, नाउपाका ४ जना छन्।