ललिता साह, काठमाडौ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सहसचिव सुवास चन्द्र शिवाकोटीको नेतृत्वमा गठन गरेको सरकारी वार्ता टोली र नेपाल स्काउट शुद्धिकरण अभियानको वार्ता टोलीबिच ५ बुँदे सहमति भएको छ ।
मन्त्रालयमा बुधबार अबेर भएको सहमतिअनुसार अनसन टोडिएको हो । सहमति संगै युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले अनसन स्थलमै पुगि ८ दिनदेखि अनसनमा रहेकोलाई जुस खुवाई अनशन तोडाएका हुन् ।
उनले नेपाल स्काउट शुद्धिकरण अभियानले उठाएका माग सम्बोधन गर्ने प्रतिवद्धता पनि प्रकट गरेका छन् । मन्त्री चौधरीले स्काउटको विकासका लागि नेपाल स्काउटका नाममा देशभर रहेको जग्गा लगायतका भौतिक सम्पतिको खोजबिन गरी व्यवसायिक प्रयोजनमा लगाई आय वृद्धि गर्ने कार्यमा सबै सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।
आन्दोलनका क्रममा उठाइएका मागका बारेमा वार्ता टोलीले छानबिन गरी तोकिएको समयसीमा भित्रै प्रतिवेदन पेश गर्न मन्त्री चौधरीले निर्देशन दिएका छन् । प्रतिवेदन कार्यान्वयनमा आफू सक्रिय हुने समेत उनले बताए । सो अवसरमा प्रमुख आयुक्त देवराज घिमिरेको समेत सहभागिता रहेको थियो ।
गत चैत १६ गते मन्त्रालयकै उपसचिव रमा भट्टराईको नेतृत्वमा गठित छानबिन समितिलाई ७ सदस्यीय पु¥याउने, छानबिन अवधिभर नेपाल स्काउटको कार्यालय संचालनका लागि कार्यकारी निर्देशकको रुपमा कामकाज गर्नका लागि नियमानुसार कार्यरत कर्मचारीलाई जिम्मेवारी दिने, नेपाल स्काउटको प्रधान कार्यालय लैनचौर, काठमाडौँमा जारी अनसन लगायतका आन्दोलनका कार्यक्रम स्थगित गर्ने लगायत पाँच बुँदे सहमति भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।