सिन्धुली । मरिण गाउँपालिकाले स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित नि:शुल्क भैँसीको पाडा वितरण गरेको छ। आर्थिक वर्ष २०८१/८२ को स्वीकृत ‘मासुका लागि पाडा प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत मरिण गाउँपालिका-४ का १० घरपरिवारलाई दुई-दुईवटा पाडा वितरण गरिएको हो। मंगलबार आयोजित विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात)ले किसानहरूलाई पाडा हस्तान्तरण गर्नुभयो।
अध्यक्ष मुक्तानले यो कार्यक्रम गाउँपालिकाको कृषि तथा पशुपालन क्षेत्रलाई सशक्त बनाउन ल्याइएको बताउँदै किसानहरूलाई आत्मनिर्भर बनाउन पशुपालन अति महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार, मरिण गाउँपालिकामा चिनियाँ लगानीमा मासु कटिङ उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढिरहेको छ। नेपाल-चीन सम्झौताअनुसार सो उद्योग सञ्चालन भएपछि किसानहरूले उत्पादन गरेका राँगा-भैँसी उचित मूल्यमा बिक्री गर्न पाउनेछन् र नेपाली मासु चीन निर्यातको बाटो छिटै खुल्ने अध्यक्ष मोक्तानले बताउनु भयो ।
पाडा वितरण कार्यक्रममा किसानहरूको उत्साहजनक सहभागिता देखिन्थ्यो। उनीहरूले यस्ता कार्यक्रमले पशुपालन व्यवसायलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। गाउँपालिकाले कृषकलाई आवश्यक सीप, प्रविधि र बजार सुनिश्चित गर्दै आत्मनिर्भर बनाउन निरन्तर पहल गरिरहेको छ। उपाध्यक्ष विमला माझीले आगामी दिनमा किसानहरूका लागि थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो भने प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले यस्तो योजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र किसानबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा वडा अध्यक्ष जित बहादुर काल्तान, लेखा शाखा प्रमुख सन्जित बुढाथोकी, स्थानीय जनप्रतिनिधि, कृषि प्राविधिक तथा किसानहरूको बाक्लो उपस्थिति थियो। सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै मरिण गाउँपालिकाको पहलप्रति आभार व्यक्त गरे। गाउँपालिकाले देखाएको यो दृढ संकल्पले किसानहरूलाई आत्मनिर्भर बनाउन, पशुपालन व्यवसायलाई व्यावसायिकतातर्फ लैजान र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।