गुल्मी । गुल्मीमा जेसिबीले पल्टाएको ढुङ्गाले विद्यालय जादै गरेकी एक बालिकाको ज्यान लिएको छ । आइतबार विद्यालय जाँदै गरेकी इस्मा गाउँपालिका– २ की ८ वर्षीया बालिका बिष्णु कुमालको ज्यान गएको हो ।
दिदी वसन्ती र दाजु सुगमसँग विद्यालय हिँडेकी बिष्णु छल्दी–हस्तीचौर–ठाडढुंगा सडकमा कहिल्यै नफर्कने गरि लडिन । श्रेष्ठ कन्स्ट्रक्सनको लु.१क ४३८६ नम्बरको जेसिबीले पल्टाएको ढुंगाले उनको ज्यान लियो ।
बिष्णु ढलेपछि डोजरचालक मकवानपुरको इन्द्रचौर गाउँपालिका– ४ सिस्नेरी घर भएका ३६ वर्षीय राजेश रेग्मी भागेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
निर्माण व्यवसायीको चरम लापरबाहीका कारण बालिकाले मृत्युवरण गर्नुपरेको देखिएको पत्रकार महासंघ गुल्मीका अध्यक्ष अनिल खत्रीले बताएका छन् । गुल्मीमा यस् अघि पनि जेसिबीले फालेको ढुङ्गाले एक स्कूले विद्यार्थीको ज्यान लिएको थियो ।