ललितपुरमा पाठ्यक्रम प्रबोधीकरण एवं प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा पाठ्यक्रम प्रबोधीकरण एवं प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न भएको छ । शिक्षा बिकास तथा समन्वय इकाई ललितपुरको आयोजनामा संचालित कार्यशाला सोमबार सम्पन्न भएको हो ।

बज्रवाराही माविमा भएको दुई दिने कार्यशालामा करिब २ दर्जन शिक्षकको सहभागिता रहेको बताइएको छ । कार्यशालामा अंग्रेजी र गणित विषयका शिक्षकहरु सहभागी भएका थिए । अंग्रेजी र गणित विषयका विज्ञहरुले विषयबस्तुमाथि प्रकाश पार्दै नयाँ पाठ्यक्रमले लिएको लक्ष हासिल गर्न शिक्षकको काम र कर्तब्य बोध गराएका थिए ।

कार्यशाला समापन कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा बिकास तथा समन्वय इकाई ललितपुरका प्रमुख निमप्रकाश सिंह राठोरले कक्षा शिस्कन सिकाइलाई उपलब्धीमुलक बनाउन कार्यशाला सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । कक्षा कोठामा पढाएर मात्र शिक्षकको कर्तब्य पूरा नहुने प्रष्ट पार्दै इकाई प्रमुख राठोरले पाठ्यक्रमको उदेश्य पूरा गर्नुपर्नेमा जोड दिए । प्रश्नपत्र निर्माण प्रक्रिया बैज्ञानिक हुनुपर्ने र शिक्षकले हजुवाको भरमा नभई विद्यार्थीको वास्तविक ज्ञानको तह मापन गर्नसक्ने गरी प्रश्न पत्र निर्माण र आन्तरिक मूल्यांकनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

बालबालिकालाई जस्तो सुकै बाटोमा दौडाउँन सकिने जिकिर गर्दै उनले विद्यार्थी असफल हुँदा शिक्षक र शिक्षा प्रणालीको दोष हुने दावी गरे । शिक्षकलाई विद्यार्थी केन्द्रीत हुन प्रोत्साहित गर्दै इकाई प्रमुख राठोरले त्यसका लागि शिक्षकलाई आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता प्रकट गरे । उनले शिक्षकको क्षमता अभिवृद्धि गर्न सीमित साधन श्रोतका बाबजुद ललितपुर इकाईले भरमग्दुर प्रयास गरिरहेको जिकिर समेत गरेका छन् ।

उक्त अवसरमा अंग्रेजी शिक्षक सानुमाया गुरुङ र गणित शिक्षक प्रेम बहादुर नेपालीले आफूहरुको कक्षामा भएका बिबिध गतिबिधि र त्यसले आफूहरूमा पारेको प्रभाव बारे बताउदै कार्यशाला चाखलाग्दो र उपलब्धीपूर्ण रहेको प्रतिक्रिया दिए ।

गणित शिक्षक सिर्जना महर्जनले प्रश्नपत्र निर्माण गर्दा ज्ञानका ४ तह समेट्नुपर्ने भन्ने कुरा यस अघि आफूहरुलाई थाहा नरहेको भन्दै इकाईप्रति आभार प्रकट गरिन । अंग्रेजी शिक्षक अर्जुन सिग्देलले तालिमपछि आफ्नो विषयमा सतप्रतिसत नतिजा ल्याउन सक्नेगरी उत्साह मिलेको बताएका छन् ।

कार्यक्रममा गणित प्रशिक्षक भरतमणी तिमल्सिना र अंग्रेजी प्रशिक्षक भरतबाबु खनालले कार्यशालामा प्राप्त ज्ञान व्यवहारमा उतार्न उत्प्रेरित गरेका थिए ।

सहभागी शिक्षकहरुले धेरै कुरा आफूहरुलाई कार्यशालामा सिक्ने अवसर प्राप्त भएको भन्दै अन्य शिक्षकलाई समेत यस्ता कार्यक्रममा सहभागी गराउनुपर्ने आवश्यकता औल्याएका थिए । नगरपालिका शिक्षा शाखाकी अधिकृत सुनिता महर्जनले कार्यशालाको प्रभावकारिता देखिएकोले नगरपालिकाले इकाईसंग समन्वय गरी अन्य शिक्षकहरुलाई पनि यस्तो अवसर उपलब्ध गराउने प्रतिवद्धता प्रकट गरेकी छन् ।

Loading...