अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका महासचिव विमला निरौलालाई राष्ट्रिय सेवा सम्मानद्वारा सम्मान गरिएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम आयोजना गरी चन्द्रलोक प्रतिष्ठानले उक्त सम्मान गरेको हो ।
पिता श्यामजी शर्मा ढुंगाना र माता शारदादेवी ढुंगानाको कोखबाट चितवन जिल्लामा जन्म लिएकी विमला निरौलाले नेपाली भाषाको विकास र संवर्धनमा लामो समयदेखि अनवरत रुपमा कलम चलाउँदै आएकी छन् ।
विशेषतः नेपाली बालसाहित्यमा प्रवासबाट कलम चलाउने निरौलाले नेपाल र नेपाली साहित्यको आकाशमा छुट्टै स्थान बनाएकी छन । विगतमा लामोसमयदेखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा आवद्ध भई भाषा साहित्यका क्षेत्रमा सक्रिय रहेकी उनी हाल अनेसासको केन्द्रीय महासचिव समेत हुन ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत तथा प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीद्वारा हस्ताक्षरित सम्मानपत्र प्रमुख अतिथि मन्त्री मोहनबहादुर बस्नेतले प्रदान गरेका छन् ।
कार्यक्रममा करिव दुई दर्जनभन्दा बढी नेपाली भाषा साहित्य तथा नेपाली गीतसंगीत एवं सामाजिक विकासमा योगदान गरिएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा लघुनाटक चेतनाको प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।