अनेसास केन्द्रीय कार्यसमितिले पायो पूर्णता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको नियमित चौथो बैठकले सर्वसम्मत रूपमा सो निर्णय गरेको हो ।

बीओटी सभापति पदम विश्वकर्माको समेत उपस्थितिमा बसेको उक्त बैठकबाट अनेसास केन्द्रीय कार्य समितिमा अमेरिकाको न्युयोर्कबाट शकुन ज्ञवाली र कतारबाट मणि पौडेल मनोनित भएका छन् । ज्ञवाली र पौडेल दुबैजना साहित्यिक रूपमा स्थापित व्यक्तित्व हुन् भने संस्थागत रूपमा पनि दुबैजनाको अनेसासमा लामो योगदान रहेको छ ।

अनेसास बिधानमा निर्वाचनबाट  अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रत्येक महादेशबाट प्रतिनिधित्व हुने गरी ५ जना उपाध्यक्षहरू, महासचिव, सचिव , कोषाध्यक्ष र सदस्य गरी १५ जना पदाधिकारी चयन गरिने प्रावधान छ भने कार्य समितिको बैठकबाट पारित गरी एक जना महिला र एक जना पुरुषलाई अध्यक्षले मनोनयन गर्ने प्रावधान रहेको छ । सोही अनुरुम ज्ञवाली र पौडेल मनोनित भएका अनेसासले जनाएको छ ।

चौथो बैठकबाट दुई केन्द्रीय सदस्य मनोनयन भए पश्चात् अनेसास केन्द्रीय कार्य समितिले पूर्णता प्राप्त गरेको कुरा अनेसासका केन्द्रीय महासचिव राजु सिटौलाले बताएका छन्  ।

अनेसास विधानअनुरूप बैठकले सिफारिस गरेको व्यक्तिहरूलाई inlsdarpan.com अनलाइन साहित्यिक पत्रिकाको प्रधान सम्पादक तथा कार्यकारी सम्पादक र मुखपत्र अन्तर्दृष्टिको प्रधान सम्पादकलाई अध्यक्षद्वारा मनोनयन गरिन्छ ।

यसै प्रावधानबमोजिम युरोपबाट निर्वाचित उपाध्यक्ष डिल्लीराम अम्माईलाई inlsdarpan.com को प्रधान सम्पादकमा जिम्मेवारी प्रदान गरिएको छ । अम्माई विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । साहित्य क्षेत्रमा उनको राम्रो दख्खल छ ।

कार्यकारी सम्पादकको जिम्मा पुनः नेपालबाट रमेश दाहाललाई प्रदान गरिएको छ । यस अघि पनि कार्यकारी सम्पादक रहेका दहाल विगत लामो समयदेखि अनेसासद्वारा प्रकाशित विभिन्न स्मारिका र चार दर्जनभन्दा बढी विविध विधाका साहित्यिक कृतिहरु सम्पादन गरिसकेका सम्पादक हुन् ।

त्यस्तै अन्तर्दृष्टिको प्रधान सम्पादकमा जापानका दिनेशराज ज्ञवालीलाई मनोनयन गरिएको छ । ज्ञवाली राम्रा गजलकार समेत हुन् ।