सन्दिपको निलम्बनबारे छलफल गर्न क्यान पदाधिकारी बैठकमा

काठमाडौं, २२ भदौ । बालिका बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछानेका बारेमा छलफल गर्न आकस्मिक बैठक आयोजना गरेको छ । मंगलबार एक बालिकाले सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

क्यान सोतले कप्तान लामिछानेका विरुद्ध बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले छलफल आयोजना गरिएको जानकारी दिएको छ । उजुरी परेको समाचार बाहिर आएदेखि नै लामिछानेलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने भन्ने बारे क्यानका पदाधिकारीबीच अहिले अनौपचारिक रुपमा छलफल चलिरहेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द उपत्यका बाहिर रहेको र उनी फर्किएलगत्तै बोर्ड बैठक बसेर निर्णय गर्ने बताइएको छ ।

स्रोतका अनुसार क्यानका कानुनी सल्लाहकारले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको कानुनी व्यवस्थाबारे अध्ययन गरिरहेका छन् । कानुन व्यवसायीले अन्तराष्ट्रिय स्तरमा कतै आरोप लाग्नासाथ निलम्बन गर्ने र कतै दोषी प्रमाणित भएपछि मात्रै कारबाही गर्ने दुबै अभ्यास रहेको सुझाव क्यानलाई दिएका छन् । क्यानका पदाधिकारीहरु यो केसले बाहिर कुन रुप लिन्छ भनेर पर्ख र हेरको रणनीतिमा रहेको पनि एक स्रोतले जानकारी दियो । क्यानका एक पदाधिकारीले सन्दिपलाई जानी जानी मर्का पर्ने निर्णय नगरिने तर क्यानले उनीमाथिको अनुसन्धानका लागि सहयोग पुग्ने गरी निर्णय गर्ने बताए ।

प्रहरीले लामिछानेका विरुद्ध परेको उजुरीलाई विभिन्न कोणबाट अनुसन्धान सुरु गरिरहेको जानकारी दिएको छ । प्रहरी उच्च स्रोतका अनुसार उजुरीमा उल्लेखित स्थानहरूमा पुगेर अनुसन्धान गर्ने तयारी गरिरहेको छ । प्रहरीले सन्दिपमाथि अहिले आरोप मात्र लागेको र अनुसन्धानपछि मात्र थप के गर्ने भन्ने भन्न सकिने जानकारी दिएको छ ।

सन्दिप अहिले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिजमा पुगेका छन् । आगामी असोज १५ अर्थात अक्टुबर १ मा सिपिएलको फाइनल हुँदैछ । सन्दीप आवद्ध टीम सेमिफाइनल वा क्वाटरफाइनलमा पुग्न नसकेको खण्डमा सन्दीप चाँडै नै नेपाल फर्कन सक्ने बताइएको छ ।

 

Loading...