काठमाडौं । सरकार आइतबार बिदा दिने निर्णयबाट पछि हटेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन विदा दिने यसअघिको निर्णय खारेज गर्दै आइतबार बिदा नदिने निर्णय गरेको हो ।
उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने छ । यसअघि वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै सातामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो ।
परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय पनि बढाएको थियो । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको थियो ।
तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको थियो । यसैबीच सातामा दुई दिन बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको छ ।