लुम्बिनीमा पनि चल्ने भयो विद्युतीय सवारी !

बुटवल – बुद्ध जन्मस्थल लुम्बिनीमा थन्क्याएर राखिएका विद्युतीय सवारी साधन दुई महिनापछि सञ्चालनमा ल्याइने भएको छ । लुम्बिनी विकास कोषले कार्यविधि बनाएर विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

कोषको बैठकले कार्यविधि निर्माणका लागि तीन सदस्यीय कार्यदलसमेत बनाएको छ । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको संयोजकत्वमा गठित कार्यदलमा विश्वराज पौडेल र राजेश शाक्य सदस्य छन् ।

एसियाली विकास बैंकले डेढ वर्ष अगाडि लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन भन्दै पाँच वटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्सी अनुदानमा उपलब्ध गराएको थियो । बैंकको क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोडको लागतमा बस तथा ट्याक्सी भित्रिएका हुन्।

सरकारले यी सवारी साधनका लागि साढे तीन करोड भन्सार शुल्क ब्यहोरेको छ । यी गाडी सञ्चालनमा आए लुम्बिनी आउने पर्यटकलाई लुम्बिनीभित्र र बुद्ध सर्किट क्षेत्रमा घुम्न सहज हुने सदस्यसचिव शाक्यको भनाइ छ ।

ती साधन सञ्चालनका लागि भन्दै कोषले ‘चार्जिङ स्टेशन’समेत निर्माण गरिसकेको छ । तर, कार्यविधि नबन्दा विद्युतीय गाडी थन्किएका थिए ।

बैंकले पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयका नाममा ती गाडी पठाएको भए पनि अझै मन्त्रालयले कोषलाई हस्तान्तरण गरिसकेको छैन । कार्यविधि बन्नु अगाडि नै ती गाडीलाई कोषको नाममा ल्याइने सदस्य सचिव शाक्यले बताए ।

Loading...