बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा वितरण सुरु

गोरखा, १२ जेठ  । गोरखा र धादिङको सिमाना भएर बग्ने  बुढीगण्डकी खोलामा ड्याम  निर्माण गरि  जलविद्युत् आयोजना बिस्तार गर्दा  डुबानमा पर्ने घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा वितरण सुरु भएको छ । आयोजनाको मुआब्जा, वातावरण, पुनर्वास तथा पुनःस्थापना इकाईले प्रभावितको खातामा रकम निकासा गरेको हो । आयोजनाको मुआब्जा, वातावरण तथा पुनःस्थापना इकाई प्रमुख जगतकुमार श्रेष्ठले पहिलो चरणमा करिब ८ सय लाभग्राहीको खातामा १ अर्ब ७० करोड निकासा गरिएको बताए ।

 मुआब्जा वितरण गर्न आयोजनाका लागि चालु वर्ष ७ अर्ब रकम विनियोजन भएको र  घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा वितरणका लागि मात्र करिब ८ देखि १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको  श्रेष्ठको भनाइ  छ । असार मसान्तसम्म साढे ६ अर्ब जति रकम वितरण गरिने तैयारी थालिएको छ भने, अपुग रकम माग गर्ने   पुनःस्थापना इकाई प्रमुख श्रेष्ठको भनाइ छ ।  

आयोजनाले ४८ हजार ९ सय ४९ रोपनी जग्गाको ३४ अर्ब ६ करोड मुआब्जा वितरण गरिसकेको छ । डुबानमा पर्ने २४ हजार ५ सय ५५ घरसहित (कुखुरा, बाख्रा र बंगुरको खोर, पाली, भाँडा माझ्ने ठाउँ, धारा, धन्सार, शौचालय) विभिन्न संरचनाको लगत संकलन सकेर मुआब्जा निर्धारण थालेको हो । संरचनालाई उत्तम, मध्यम र सामान्यमा विभाजन गरी दररेट निर्धारण भएको छ । डुबानमा पर्ने ३० प्रजातिका ४ लाख ६३ हजार १ सय ४९ फलफूलको पनि मुआब्जा वितरण हुने बताइएको छ । 
नेपालकै लगानीमा सरकारले १२ सय मेगावट बुढीगण्डकी जलविद्युत् आयोजना नेपालकै लगानीमा निर्माण गर्ने भएको हो ।सरकारको लक्ष्य अनुसार विसं. २०८४/८५ सम्म आयोजना सम्पन्न गर्नुपर्ने भएपनि आयोजना सुरु भएको दश  वर्ष बितिसक्दासम्म अपेक्षा गरे अनुसार  प्रगति भएको छैन । आयोजनाको निर्माण पूरा हुन अब ६  वर्ष मात्रै बाँकी छ ।
आयोजनाका लागि ६ हजार तीन सय वर्ग किलोमिटरको जलाशय बन्ने, आयोजनाको पूर्ण जल सतह ५ सय ४० मिटर रहने, २ सय ६३ मिटर अग्लो बाँध निर्माण गरिने, वार्षिक औसत ३ हजार ३ सय ८३ गिगावाट विद्युत उत्पादन हुने, निर्माण अवधि साढे ८ वर्ष हुने गरि आयोजना सुरु गरिएको हो ।

 

Loading...