शुरुमा कार्बोहाइड्रेट (Carbohydrate) बारे सामान्य जानकारी
हामीले दैनिक खाने खानाबाट प्राप्त हुने फाइबर (FIBER) बाहेक, खानाबाट प्राप्त हुने कार्बोहाइड्रेटलाई हाम्रो शरिरको लागि अत्यावश्यक मानिदैन । प्रत्येक प्रमुख पोषणयुक्त खानेकुराहरुमा शरिरलाई आवश्यक पर्ने धेरै कम्पाउण्डहरु रहेका हुन्छन् । जस्तै: नौ आवश्यक एमिनो एसिडहरु (AMINO ACID), दुई फ्याट एसिड (OMEGA 3, OMEGA 6) र अरु धेरै भिटामिन र खनिजहरु ।
मानिसको शरिरको लागि आवश्यक हुने फ्याटी एसिड (FATTY ACID) को बारेमा हामी सबैले सुनेकै छौं । तर के हामीलाई कार्बोहाइड्रेट अत्यावश्यक छ भनेर कहिल्यै सुनेका छौं ? अत्यावश्यक मतलब यो हुन्छ कि हाम्रो शरिरले उक्त पदार्थ बनाउन सक्दैन र हामीले खानेकुराबाट पुर्ति गर्नुपर्ने हुन्छ । कार्बोहाइड्रेट अत्यावश्यक यसअर्थमा होईन कि शरिरको लागि आवश्यक ग्लुकोज, जसको अधिक श्रोत कार्बोहाइड्रेट हो र आवश्यक ग्लुकोज हाम्रो शरिरले आफैं बनाउन सक्षम रहन्छ ।
हामीलाई आवश्यक माक्रोन्युट्रेन्टस् (खानामा समावेश गर्नुपर्ने अत्यावश्यक तत्वहरु) हाम्रो दैनिक खानामा चाहिन्छ किनकी यि तत्वहरु हाम्रो शरीरले आफैंले बनाउन सक्षम हुँदैन । किटो डाईट, लो कार्ब डाईट र कार्निवोर डाईट (माछा, मासु, अन्डा मात्र) मा ग्लुकोनियोजेनेसिस (मांशपेसी र कलेजोमा भएको ग्लाईकोजेनलाई टुक्राएर ग्लुकोज बनाउने) प्रकृया मार्फत प्रोटिन र फ्याट लाई ग्लुकोजमा परिणत हुन्छ ।
यदि हाम्रो शरिरले प्रोटिन र फ्याटबाट ग्लुकोज उत्पादन गर्न सक्छ भने त्यसको बाहिरी श्रोत अर्थात खानाबाट प्राप्त हुने कार्बोहाईड्रेटलाई अत्यावश्यक (Essential) भनिदैन । मानिस बाँच्नको निम्ति ग्लुकोज यति आवश्यक हुन्छ कि यसलाई उत्पादन गर्न प्राकृतिक रुपमा नै शरिरको संयन्त्र विकास गरेको हुन्छ ।
निरन्तर रुपमा कम कार्बोहाईड्रेटयुक्त खाना (Low Carb Diet) खाने मानिसले राम्रो महशुस गर्न र कार्य क्षमता चुस्त राख्न सक्षम हुन्छन् । कम कार्बोहाईड्रेटयुक्त खाना यसप्रकार उपयोगि हुन सक्छन्:
• न्यूरोलोजिकल समस्याहरु भएकाको लागि (Neurological Issues- Epilepsy, Alzheimer, etc)
• मधुमेहका बिरामीको लागि (Sever Blood Sugar Issues – Diabetes)
• तौल नियन्त्रणको लागि (Weight Loss)
• पेट सम्बन्धी समस्याहुनेको लागि (Gut Issues)
• रगतमा चीनीको नियमन गर्न (Blood Sugar Regulation)
• मुड गढबढी हुन नदिन (Mood Disturbance)
• पाचन सम्बन्धी समस्या हुनेको लागि (Digestive Issues)
यदि चिकित्सा विज्ञानबारे चासो राख्नुहुन्छ भने कहिँ न कहिँ तपाईले सुन्नुभएको होला, ‘मस्तिष्कलाई सक्रिय रहन कार्बोहाइड्रेटको आवश्यकता पर्दछ’ । पूर्णरुपमा Keto र Low Carbohydrate Diet लाई अनुशरण नगर्नको निमित्त उक्त तर्क विश्वसनीय सुनिन सक्छ । तर, के यो सही नै हो त ?
हाम्रो मस्तिष्कमा निरन्तर शक्ति आपुर्तिको आवश्यक पर्दछ । मस्तिष्क हाम्रो शरिरको सम्भवत सबैभन्दा व्यस्त अंग हो । यसले हामीलाई तुरुन्त निर्णयहरु लिन, पढ्न, बोल्न र तुरुन्त अन्य धेरै कार्यहरु गर्न निर्देशित गर्छ । जीवनको निम्ति अत्यावश्यकको रुपमा रहेको स्वास फेर्ने काम, शरीरको तापक्रम नियमन गर्ने काम र हर्मोनहरु उत्पादन गर्ने कामका निम्ति पनि मस्तिष्क जिम्मेवार रहन्छ । यसले स्नायु प्रणालीको केन्द्रीय भागको रुपमा काम गर्दछ । त्यस्तै, पुरै शरीरबाट सुचनाहरु प्राप्त गर्ने र पठाउने कार्य पनि गर्दछ ।
मस्तिष्कको तौल पुरा शरीरको दुई प्रतिशत मात्र हुन्छ तर यसले हामीले दैनिक उपयोग गर्ने शक्तिको बीस प्रतिशत शक्ति उपयोग गर्दछ । यी सबै महत्वपूर्ण कार्यहरु गर्न मस्तिष्कमा निरन्तर शक्तिको आपुर्ति आवश्यकता पर्दछ । जसको लागि मस्तिष्कले दुईमध्ये एक ग्लुकोज (Glucose) वा किटोन्स (Ketones) को उपयोग गर्दछ ।
यदि हामीले खानामा धेरै कार्बोहाइड्रेट लिन्छौं भने मस्तिष्कको उर्जाको स्रोत ग्लुकोज हुन्छ । कम कार्बोहाइड्रेटयुक्त खाना (Low Carbohydrate) वा किटो (Ketogenic Diet) लाई प्रयोग गर्छौं भने मस्तिष्कले किटोन्स (Ketones) लाई उर्जाको मुख्य स्रोतको रुपमा उपयोग गर्दछ । यसर्थ मस्तिष्कलाई कार्बोहाइड्रेट अत्यावश्यक छैन ।
कुनै किसिमको कार्बोहाइड्रेट (Carbohydrate) नखाँदा के हुन्छ ?
कार्बोहाइड्रेट सेवन गरेर मस्तिष्कलाई अधिकतम रुपमा कार्य गर्न एक दिनमा लगभग ११० देखि १४५ ग्राम ग्लुकोज आवश्यक पर्छ भन्ने अनुमान गरिएको छ । तर, आजभोलिको आधुनिक जीवन शैलीमा हामी अत्याधिक कार्बोहाइड्रेट सेवन गरिरहेका छौं । आजकलको सामान्य जीवनशैलीमा हामीले मस्तिष्कलाई चाहिने भन्दा झन्डै दोब्बर ग्लुकोज हामीले सेवन गरिरहेका छौं ।
यदि त्यसो हो भने हामीले प्रतिदिन ११० ग्राम भन्दा निकै कम कार्बोहाइड्रेट सेवन गरे के हुन्छ ? अथवा कार्बोहाइड्रेट बिल्कुल सेवन नगरे के हुन्छ ? के मस्तिष्कले काम गर्न छोड्छ ?
होईन ।
हाम्रो कलेजो र मांशपेशीहरुले ग्लुकोजलाई ग्लाईकोजिन (Glycogen) को रुपमा संचित गरेको हुन्छ । यो व्यक्तिपिच्छे फरक हुन सक्छ तर औषत तौल ७० केजी भएको मानिसले आफ्नो कलेजोमा १०० ग्राम ग्लाईकोजिन संचित गरेको हुन्छ ।
जब हामी लामो समयसम्म कार्बोहाइड्रेट सेवन बन्द गर्छौं, हाम्रो कलेजोमा भएको ग्लाईकोजिन टुक्रिएर ग्लुकोज बन्दछ र रगतमा मिसिन्छ । जसले रगतमा ग्लुकोजको स्तर तल झर्नबाट रोक्दछ । ग्लाईकोजिनको मात्रा कलेजोमा हुने भन्दा धेरै मांशपेसीहरुमा हुन्छ जसले मांशपेशीहरुमा निरन्तर शक्ति प्रदान गरिरहेको हुन्छ । तर, रगतमा गएर ग्लुकोजको मात्रा भने बढाउँदैन ।
यदि हामीले २४ देखि ४८ घन्टासम्म कार्बोहाइड्रेट सेवन गरेनौं भने ग्लाईकोजिन र इन्सुलिनको स्तर घट्न जान्छ । सँगै कडा व्यायाम पनि गर्यौं भने यो प्रकृया अझै छिटो हुन्छ । यस्तो स्थितिमा हाम्रो कलेजोले पानीमा धुलनशिल किटोन्स उत्पादन गर्दछ । जुन हामीले खाएको फ्याट, फ्याटी एसिड अथवा शरिरमा संचित बोसोबाट बन्ने गर्छ । यसरी बनेको किटोन्सले मस्तिष्कलाई अतिरिक्त उर्जा प्रदान गर्दछ । यसको अर्थ कार्बोहाइड्रेट कम भएको अवस्थामा उर्जाको अर्को स्रोतको रुपमा किटोन्स रहेको बुझ्न सकिन्छ ।
के मस्तिष्क किटोन्स (Ketones) मा मात्र निर्भर रहन सक्छ ?
मस्तिष्कलाई जहिले पनि केहि मात्रामा ग्लुकोजको आवश्यकता पर्दछ । यद्यपी अनुसन्धानकर्ताहरुले यो बताएका छन् कि सहिरुपमा Ketogenic Diet अनुशरण गर्नेहरुमा ७० प्रतिशत सम्म मस्तिष्कको निम्ति उर्जाको आवश्यकता किटोन्सबाट पुर्ति हुन्छ । बाँकीको निम्ति ग्लुकोनियोजेनेसिस (Gluconeogenesis) को प्रकृयाबाट कलेजोले ग्लुकोज बनाउँदछ ।
कलेजोले Glucose Synthesis गर्न प्रयोग गर्ने Compound हरु के के हुन् ?
• प्रोटिनबाट प्राप्त एमिनो एसिड
• शरिरको बोसो र खानाबाट प्राप्त हुने फ्याट टुक्रिएर बन्ने ग्लिसरोल (Glycerol) पाईरुवेट (Pyruvate) र ल्याक्टेट (Lactate)
तपाईंको शरीरले प्रोटीन र फ्याट (बोसो) लाई आफैं आवश्यकता अनुसार ग्लुकोजमा रूपान्तरण गर्न सक्छ । त्यसैले ग्लुकोजकै लागि भनेर कार्बोहाइड्रेट तपाईंको शरीरलाई आवश्यक हुँदैन । त्यसैले संचित रहेको ग्लुकोज, ग्लुकोनियोजेनेसिस (Gluconeogenesis) अथवा Ketone उत्पादन बाट हाम्रो कलेजोले मस्तिष्कको उर्जाको मागलाई पुरा गर्दछ । चाहे हामीले कुनै कार्बोहाइड्रेट खाऔं या नखाऔं ।