सकियो नेपालभाषा साहित्य नख:, स्थानीय पाठ्यक्रम लागू गर्ने जनप्रतिनिधि सम्मानित

 

काठमाडौं : चौथो नेपालभाषा साहित्य नख: सम्पन्न भएको छ। कीर्तिपुरमा आयोजना भएको दुई दिने महोत्सव आज सकिएको हो। नख: अन्तर्गत आज पांगा लाछिमा विद्यालय तहमा स्थानीय भाषामा स्थानीय पाठ्यक्रम लागू गरिएको काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका प्रमुख र कीर्तिपुर नगरपालिकाका प्रमुख र उपप्रमुखलाई सम्मान गरिएको थियो। जनकवि दुर्गालाल श्रेष्ठ, नेपालभाषा एकाडेमीका भाइरस च्यान्सलर मल्ल के सुन्दर र नेपालभाषा टाइम्सका प्रकाशक रमेश स्थापितले विद्यालय तहमा नेपालभाषामा पाठ्यक्रमको व्यवस्था गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललतिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र उपप्रमुख सरस्वती खड्का रिजाललाई सम्मानित गरेका थिए। सम्मान ग्रहण गर्दै काठमाडौं महानगरपालिकाका मेयर शाक्यले इच्छा शक्ति भए आफूले सोचेको कुरा पूरा गर्न सकिने बताए। नेपालभाषा पाठ्यक्रम लागू गर्न मेयरको मात्रै नभइ उप्रप्रमुखदेखि सबै वडा जनप्रतिनिधि र कर्मचारीहरुको पनि उत्तिकै भूमिका रहेको उनले बताए। ‘नीतिलाई कार्यान्वयन गर्न बाहिर बसेर सहयोग गर्नेहरु धेरै छन्। त्यसैले उहाँहरुकै साथमा पाठ्यक्रम बनाएर लागू गरेका हौं,’ उनले भने। शाक्यले पाठ्यक्रम लागू भएको तर अझै गर्न पनि धेरै काम बांकी रहेको बताए। ‘हामी अझै सफल भएका छैनौं। हामी सबै मिलेर अझै यसलाई सफल बनाउनपर्छ। राज्य धर्म हाम्रो हो। संविधान अनुसार काम हामीले गरेको हो। त्यसैले कोही रिसाउनुपर्दैन,’ उनले भने। ललितपुर महानगरका प्रमुख महर्जनले पनि आफूहरुले संविधान अनुसार स्थानीय पाठ्यक्रम लागू गरेको बताए। ललितपुर महानगरमा हाल कक्षा ३ सम्म पाठ्यक्रम लागू भएको जानकारी दिँदै उनले कक्षा १२ सम्म नेपालभाषा पाठ्यक्राको पढाइ हुनुपर्ने उनले बताए। ‘पाठ्यक्रम लागू गराउन धेरैले सहयोग गर्नु भएको छ। उहाँहरु पनि सम्मानको हकदार हुनुहुन्छ,’ उनले भने, ‘हामीले सुरुवात गरेको हो। अब १२ कक्षासम्म पढाउनुपर्छ।’ यस्तै, कीर्तिपुर नगरपालिकाका मेयर रमेश स्थापितले स्थानीय पाठ्यक्रम लागू भएपछि नगरवासीहरु खुशी भएको बताए। ‘नेवारसँगै गैरनेवारहरु पनि खुशी छन्। गैर नेवार समुदायका मानिसहरु आफ्ना छोरा छोरीले एउटा थप भाषा सिक्ने अवसर पाएर भनेर भनिरहेका छन्। यसमा सबैको साथ छ,’ कीर्तिपुर नगरका प्रमुखले भने। यस्तै, कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्का रिजालले नेपालभाषा सबैले सिक्न पर्ने बताइन्। कार्यक्रमको सुरुवातमा नेपालभाषामा नै सम्बोधन गरेकी उनले आफूलाई पनि सुरुमा गाह्रो भएको तर अहिले नेपालभाषा बुझ्न सक्ने र बोल्ने प्रयासमा रहेको बताइन्। उनले नेपालभाषामै पाठ्यक्रम लागू गर्नु सफलता भएको भन्दै कीर्तिपुरमा गैरनेवारहरु पाठ्यक्रम लागू भएपछि खुशी भएको बताइन्। साथै, विद्यालयमा गैरनेवारले नै नेपालभाषा पढाउने गरेको समेत बताइन्। सम्मान कार्यक्रम अघि कीर्तिपुरको संस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनाबारे छलफल भएको थियो। वक्ताहरुले काठमाडौं, भक्तपुर र ललितपुरमा आउने पर्यटकलाई कीर्तिपुर तान्न नसकिएको भन्दै कीर्तिपुरलाई पर्यटकीय क्षेत्र बनाउन ‘मार्केटिङ’ र ‘ब्रान्डिङ’को आवश्यकता रहेको बताएका थिए। अब कीर्तिपुर नेवार परिकारहरुको रेष्टुराँ हब भएको भन्दै उनीहरुले कीर्तिपुरका सांस्कृतिक सम्पदा र त्यहाँ एड्भेन्चर टुरिजमको सम्भावनाको प्रचारप्रसार हुनुपर्ने बताएका थिए। महोत्सवमा नेपालभाषाका नाटक, गीत, कविता समेत प्रस्तुत गरिएको थियो। साथै नेपालभाषा पठनपाठनले साहित्यलाई कसरी टेवा दिन्छ भन्ने विषयमा पनि अन्तर्क्रिया भएको थियो। शुक्रवार भने ‘नेवा: ऋतु म्ये’ विषयमा वरिष्ठ संगीतकर्मी रामकृष्ण दुवालसँग अन्तर्क्रिया भएको थियो। विभिन्न साहित्यिक कार्यक्रमसँगै शुक्रवार पाँचवटा पुस्तक विमोचन गरिएको थियो।

Loading...