अब पोखरा संसारसँग जोडिने छ ः मन्त्री आले

१३ चैत, पोखरा ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् ।

चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै हिजो सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उनले नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताए ।

मन्त्री आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अब नेपालको पर्यटन प्रवर्द्धन गर्न तथा नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन थप टेवा पुग्ने बताए । पोखरेली र पोखराका पर्यटन व्यवसायीलाई बधाई दिँदै उनले पोखरामा अब ठूला होटल निर्माण गर्न र पर्यटन प्रवर्द्धनका प्याकेज कार्यक्रम ल्याउन पनि आग्रह गरे ।

मन्त्री आलेले पोखरामा अब विश्वका पर्यटक आउने भएकाले पाँचतारे मात्र नभएर साततारेसम्मका होटल खोल्न पनि आग्रह गरे । ठूला होटल तथा क्यासिनो खोल्नका लागि पर्यटन मन्त्रालयले आवश्यक सहयोग गर्नेसमेत मन्त्री आलेले जानकारी दिए ।

पर्यटकहरूलाई आवश्यक पर्ने अन्य पूर्वाधार, साहसिक पर्यटकीय पूर्वाधार तथा मनोरञ्जनका अन्य पूर्वाधार निर्माण गरी यहाँ आउने पर्यटकलाई धेरै दिन बास बसाल्न सक्ने कार्यक्रम ल्याउन मन्त्री आलेले पोखराका पर्यटन व्यवसायीलाई आग्रह गरे । उनले पोखराको पर्यटन प्रवर्द्धनका लागि नेपाल सरकार र आफू व्यक्तिगतरूपमा पनि सधैँ तत्पर रहेको बारम्बार दोहोर्याएका थिए।

Loading...