सुदूरपश्चिमको अर्गानिक स्वाद बोकेको उपन्यास आउँदै

‘छाइल’ नेपाली साहित्यमा कोशेढुङ्गा बन्ने

काठमाडौं, ५ फागुन । डोटीका युवा कवि लोकराज भट्टद्वारा लिखित उपन्यास ‘छाइल’ नेपाली साहित्यमा कोशेढुङ्गा बन्ने विश्वास गरिएको छ।

मंगलबार प्रकाशक ‘बुक्स हिमालय’ ले काठमाडौंमा आयोजना गरेको पुस्तक आवरण सार्वजनिक कार्यक्रमका वत्ताहरूले छाइलको मुक्त कण्ठले तारिफ गरेका छन्।

‘जीवनमा धेरै किताब सम्पादन गरेँ। पढ्दा आनन्द आएका थोरै किताबमध्ये छाइल एक हो’, पुस्तकका सम्पादक राजकुमार बानियाँले भने, ‘यसमा वास्तविक अर्गानिक स्वाद छ। लोभलाग्दो र ईर्श्यालाग्दो अवतारमा आख्यानकार भट्ट उदाउनु सुखद उपलब्धि हो।’

युवा पुस्ताले पढ्नैपर्ने उपन्यासका रूपमा छाइल आउन लागेको बानियाँले बताए। ‘एउटा कविले कस्तो उपन्यास लेख्न सक्छ भन्ने उदाहरण हो यो’, उनले भने, ‘कथा युनिक छ। झरिलो भाषा, मिठो शैली र नवीन परिवेशले तानिरहन्छ। पढ्न सुरु गरेपछि नसकी छोड्न मन लाग्दैन।’

डोट्याली भाषाको शब्द ‘छाइल’ को अर्थ हुन्छ–छाया। यस उपन्यासमा सुुदूरपश्चिम प्रदेशको डोट्याली सभ्यताका छाया र प्रतिछाया सलबलाएका छन्। यसमा पूर्खाको संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई उजिल्याउने जर्मको गरिएको छ।

उपन्यासकार भट्ट, सम्पादक बानियाँ र प्रकाशक बुक्स हिमालयका प्रवन्ध निर्देशक पवन शाक्यले पुस्तकको आवरण सार्बजनिक गरेका हुन्।

कार्यक्रममा सुदूरपश्चिमका सांस्कृतिक अध्येता एवं कवि हेमन्त विवशले ‘छाइल’ उदाहरणीय कृति बन्न पुगेको बताए।

‘छाइलमा डोट्याली सभ्यतालाई ज्यादै मिठो ढंगले पस्किएको छ’, उनले भने, ‘यसले पाठकको मन जित्नेछ।’

उपन्यासमा अनाम गाउँका एक युवाको सपना र संघर्षको हृदय पगाल्ने कथा छ। जीतुराजको बाल्यकाल र किशोरकाल हुँदै युवाकालसम्म उपन्यासले फन्को लगाएको छ।

सहरमा अनेक हन्डर र ठक्कर खाँदै भौतारिएको जीतु आखिर गाउँको विश्वविद्यालय भर्ना हुने भन्दै किन फर्कियो तरु उपन्यासमा पाठकले यसको सुखद समाधान पाउने छन्।

पिता र पुत्रबीचको सम्बन्ध पनि उपन्यासको सुन्दर पाटो हो। जितुका बा निकै मायालु लाग्छन्। जितुसँग उनको सम्बन्ध पुत्रवत्भन्दा मित्रवत् छ। यसमा धेरै बाहरूका जिन्दगीका नभनिएका आत्मीय कथा भेटिने छ। जितुका बा, आमा, दिदी, छिमेकी दुर्वासा, दयाराम अनि उसका ग्रामीण साथीहरूको कथाले पाठकलाई गाउँकै आँगनमा पुर्‍याउने पक्का छ।

‘छाइल’मा माटोको रङ मजाले पोतिएको छ। प्रकृतिको संगीतले मनलाई शीतलो पारिदिन्छ। डेउडाका झङ्कारहरूले मनलाई नृत्यमग्न पारिदिन्छन्। सुन्दर शब्दशिल्पका कारण पहिलो पानादेखि अन्तिम पानासम्म कतै रोकावट छैन। संवाद सूक्तिमय छन्। यस उपन्यासलाई काव्याख्यान वा काव्यान्यास भने पनि हुन्छ।

डोटीको केआई सिंह गाउँपालिका, वायलमा जन्मेका भट्टको पहिलो आख्यान पुस्तक हो, ‘छाइल’। अत्यन्त उत्साही र जाँगरिला युवा लेखक भट्टको आख्यान—आगमन आशाप्रद छ। यसले नेपाली आख्यानमा मौलिक छाप छाड्ने प्रकाशकको विश्वास छ।

छाइल ‘बुक्स हिमालय’को पहिलो उपन्यास हो। यसलाई फागुनमै बजारमा ल्याइने प्रकाशकले जनाएको छ। कोभिड–१९ का कारण भएको पहिलो लकडाउनका बेला स्थापित बुक्स हिमालय नेपाली साहित्यको प्रवद्र्धनमा क्रियाशिल छ।

यसले बाल साहित्यका १ दजर्न पुस्तक प्रकाशन गरिसकेको छ भने किशोर साहित्यका दुई ओटा। साथै नियात्रा, जीवनी र निबन्धका पुस्तक पनि धमाधम प्रकाशन गर्दैछ।

Loading...