युक्रेनी सीमाबाट केही सेना हटायो रुसले, पुटिन भन्छनः युद्ध चाहन्नौँ

एजेन्सी । युक्रेनमाथि हमलाको खतराबीच रुसले मंगलबार आफूले युक्रेनको सीमाबाट आफ्ना केही सेना हटाइरहेको जानकारी दिएको छ ।

यद्यपि, युक्रेनले रुसी सेना फिर्ता गएको देखेमात्रै आफूलाई रुसको कुरामा विश्वास लाग्ने बताएका छन् । यस्तै, नेटोले यस्तो घोषणाले आशा जगाउने भएपनि रुसको दाबी पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको बताएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले युद्ध नचाहने भएकोले कुराकानीको प्रस्ताव पेश गरेको तर हालसम्म रुसको प्रस्तावको कुनै ठोस् जवाफ नआएको पनि उनले बताएका छन् ।

यसैबीच एक महत्वपूर्ण घटनाक्रममा रुसी संसदले भोटिङ गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका दुई गणराज्य लुहानस्क र दोनेत्स्कको स्वतन्त्रतालाई मान्यता दिन अनुमति दियो । यी दुबै गणराज्यले आफूलाई युक्रेनबाट स्वतन्त्र घोषित गरेको थियो ।

रुसले यी दुबै गणराज्यका ७,२०,००० जनालाई आफ्नो नागरिकता दिएको छ । यहाँ सन् २०१४ देखि विद्रोह सुरु भएको थियो । यदि पुटिन युक्रेनबाट अलग भएको यो दुबै गणराज्यलाई मान्यता दिन्छन् भने यो शान्ति सम्झौताको उल्लंघन मानिनेछ ।

रुसले भन्यो – पश्चिमी देशलाई लज्जा भयो

रुसको रक्षा मन्त्रालयले उनको सैन्य अभ्यास जारी भएको तर केही टुकडी आफ्नो आधार क्षेत्र तर्फ फर्किरहेको बतायो । यद्यपि, मन्त्रालयको बयानमा कति सैनिक फिर्ता भइरहेका छन् भन्ने जानकारी दिइएको छैन । यो पनि स्पष्ट छैन कि यसले रुस–युक्रेनबीच तनाव कति कम हुनेछ ।

रुसको रक्षा मन्त्रालयकी प्रवक्ता मारिया जखारोवले १५ फेब्रुअरी सन् २०२२ का दिन इतिहासमा दर्ता हुनेछ किनभने पश्चिमी देशको युद्धको प्रोपोगान्डा असफल भइसकेको छ । हाम्रो तर्फबाट कुनै गोली नचलाई उनीहरु लज्जित र ध्वस्त भइसकेका छन् ।

युक्रेनले सैनिकको फिर्तीको रुसको दाबी हाल पुष्टि हुन नसकेको बताएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भने, ‘मेरो सिद्धान्त के छ भने मैले जे सुन्छु, त्यसमा विश्वास गर्दिनँ । जुन देख्छौँ त्यसमा विश्वास गर्छु । जब हामी रुसी सैनिक फिर्ता भइरहेको देख्छौँ त्यतिबेला मात्रै तनाव कम भइरहेको ठान्छौँ ।’

उनका अनुसार युक्रेन रुससँग आफ्नो तनाव थप नबढाउनका लागि मित्र देशसँग मिलेर कुटनीतिक कोसिसमा लागेका छन् ।

यसैबीच बेलायतले कुटनीतिक कुराकानी सुरु हुने संकेत देखिएको बताएको छ । तर गुप्तचर जाकारीका अनुसार स्थिति उत्साह जगाउने खालको छैन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले युक्रेनबारे इमर्जेन्सी कोबरा मिटिङपछि रुसबाट यतिबेला मिश्रित संकेत पाइएको बताए ।

उनले भने, ‘युक्रेनको नजिक रुस फिल्ड अस्पताल बनेको छ । यसका साथै अतिरिक्त बटालियनलाई सीमाको थप नजिक लगिँदैछ । यसलाई हमलाको तयारी नै मान्न सकिन्छ । रुस ठूलो तयारीमा लागिरहेको छ र कुनै पनि बेला हमला गर्नसक्छ ।’

जोनसन भन्छन्, ‘यदि रुसले युक्रेनमाथि हमला गरे रुसी बैंक र कम्पनीमाथि कडा प्रतिबन्ध लगाइनेछ । ’

नेटोले के भन्यो ?

रुसले आफ्ना केही सैनिकलाई फिर्ता बोलाएको जुन घोषणा गरेको छ, त्यसबारे नेटोले पनि प्रतिक्रिया दिएको छ । नेटोका महासचिव जेन्स स्टोलटनबर्गले ठूलो संख्यामा रुसी सैनिक फिर्ता भएपछि र सीमाबाट सैन्य उपकरण हटाएपछि मात्रै तनाव साँच्चै नै कम हुने बताएका छन् । रुसले हमलाका लागि सबैकुरा तयार राखेका छन् ।

यसैबीच जर्मन चान्सलर ओलाफ स्कोल्ज रुस पुगिसकेका छन् । उनी छिट्टै रुसको राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नेछन् । जर्मनीले रुसप्रति नरम धारणा अपनाइरहेको छ भनेर व्यापक आलोचना भइरहेको छ । जर्मनीले रुसबाट आउने नर्ड स्ट्रिम ग्यास पाइपलाइन परियोजनालाई रद्द नगर्ने मान्यता राखिएको छ । तर अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि रुसले युक्रेनमाथि हमला गर्छन भने यो परियोजना रद्द गरिने चेतावनी दिइसकेका छन् ।

हमलाको खतराः

रुसले आफ्ना केही सैनिकलाई फिर्ता बोलाएको घोषणा त गरेका छन् तर यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । पश्चिमी देशले यसबारे अहिलेसम्म सिधा प्रतिक्रिया दिएका छैनन् ।

अघिल्लो वर्ष नोभेम्बरमा मात्रै रुसले युक्रेनको सीमामा आफ्ना सैनिकको तैनाथी सुरु गरेको थियो । हालसम्म एक लाखभन्दा बढी रुसी सैनिक त्यहाँ तैनाथ गरिएका छन् । यसैकारण रुसले युक्रेनमाथि कुनै पनि बेला हमला गर्नसक्छ भनी आशंका जताइँदैछ ।

रुसको युक्रेनसँग सांस्कृतिक र ऐतिहासिक सम्बन्ध छ । युक्रेन नेटोमा समावेश होस् भन्ने रुस चाहँदैन तर पश्चिमी देशको सैन्य गठबन्धन नेटोले युक्रेन नेटोमा समावेश नगर्ने भन्ने कुराको प्रत्यायभूत गर्नका लागि आफू तयार नभएको बताएको छ । अमेरिकाले रुस युक्रेनमाथि हमला गर्नसक्ने आशंका व्यक्त गरेका ेछ । यसैकारण उसले आफ्नो दूतावास राजधानी किवबाट हटाएको छ ।

Loading...