फेसबुक म्यासेन्जर: उच्च गोपनीयता कायम हुने एन्ड–टु–एन्ड इन्क्रिप्शनमाथि सङ्घर्ष किन?

काठमाडौं, ९ माघ ।यूके सरकार र बालबालिकाका लागि काम गर्ने परोपकारी संस्थाहरूको सङ्गठनले ब्रिटिश नागरिकहरूलाई फेसबुकमाथि उसको मेसेन्जर सेवामा दुई कुनामा गोप्य रूपमा फेरिँदै पुग्ने (एन्ड–टु–एन्ड इन्क्रिप्शन अथवा ईटूईई) सेवा सुरु नगर्न दबाव दिन आग्रह गरेका छन्।

सो अभियानको मत छ – यदि फेसबुकले त्यस्तो निकै सुरक्षित सन्देश आदानप्रदान गर्ने प्रणाली ल्याएमा अनलाइन हमलाकारीबाट थप बालबालिका जोखिममा पर्छन्।

यो सार्वजनिक बहस निकै चर्को हुन सक्ने ठानिएको छ।

किनकि गोपनीयता पक्षधरहरू र प्रविधि कम्पनीहरूले प्रणालीहरूले व्यक्तिगत गोपनीयता र तथ्याङ्कको सुरक्षा आवश्यक पर्ने बताउँदै आएका छन्।

यूकेमा सुरु भएको यस बहसलाई संसारभर चासोपूर्वक हेरिएको छ।

धेरै सरकारहरूले समेत ईटूईईलाई अहिलेकै स्वरूपमा फैलनबाट रोक्ने सोचिरहेका छन्।

कैयौँ वर्षदेखि यूके, अस्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, अमेरिका, भारत र जापान तथा इन्टरपोल र यूकेको न्याश्नल क्राइम एजेन्सी एनसीएजस्ता कानुन कार्यान्वयनकर्ता निकायले यस प्रविधिको आलोचना गरेका थिए।

त्यसैक्रममा अर्बौँ मानिसहरूले ह्वाट्सएप, आइमेसेज र सिग्नलजस्ता सेवामार्फत् ईटूईई प्रयोग गरिराखेका छन्।

इन्क्रिप्शन के हो?
इन्क्रिप्शन भनेको डेटाहरूलाई तितरबितर पार्दै त्यो पढ्न नसकिने बनाउने प्रक्रिया हो।

हामीले खासमा थाहै नपाइकन दैनिक रूपमा इन्क्रिप्शन प्रविधिको प्रयोग गरिराखेका छौँ।

यो खासगरी इन्टरनेट ब्याङ्किङ वा इमेलजस्ता संवेदनशील अनलाइन सेवाका लागि महत्त्वपूर्ण छ।

यसले एउटा गोप्य कोडलाई वेवसाइट वा एपसँग हाम्रो र उपकरणको सम्झौता गराएपछि काम गर्छ।

हामीले इन्टरनेट वेबमा केही जानकारी पठाउनुअघि त्यो इन्क्रिप्टेड हुन्छ।

जब यो हामीले सम्पर्क गरिरहेको कम्पनीसम्म पुग्छ तब त्यो सोही कोडका भरमा सुरुवाती स्वरूपमै फर्केर ९डिक्रिप्शन० भइ पढ्न सकिने हुन्छ।

इन्क्रिप्शनको यो स्वरूपलाई हामी सबैले हाम्रा विवरण साइबर हमलाकारी वा अपराधीहरूबाट जोगाउने भन्दै रूचायौँ।

तर त्यो डेटा त्यसलाई प्रशोधन गर्ने कम्पनीहरूले पढ्न सक्ने भए।

त्यसैले सुरक्षा सेवा वा प्रहरीले तिनलाई कम्पनीसँग उसले भण्डारण गरेका विवरण माग्न सक्ने भए।

एन्ड–टु–एन्ड इन्क्रिप्शन के हो?

यो संसारभर प्रहरीको अपराधमा प्रमाण जुटाउने दैनिक प्रक्रिया हो।

एन्ड–टु–एन्ड इन्क्रिप्शन एक कदम अघि बढ्छ। पठाउने र पाउनेबीचको गोप्य कोड यति गोप्य हुन्छ कि त्यसलाई भण्डारण गर्नेलाई समेत त्यसबारे थाहा हुँदैन।

त्यसको अर्थ दुई कुनामा रहने प्रयोगकर्ताले मात्र सन्देश, तस्विर वा फोन कल वास्तविक स्वरूपमा हेर्न पाउँछन्।

यस प्रणालीले कसरी काम गर्छ भनेर जान्नका लागि तपाईँले आफूले मात्र पत्र पाउन सक्ने गरी हुलाकी बाकस बनाएको सम्झँदा हुन्छ।

तपाईँले आफूसँग भएको एउटा बाकस आफूसँग मात्र भएको एउटा साँचो लगाएर कतै पठाउनु हुन्छ। जसभित्र अर्को कोहीले एउटा चिठी राख्छन् र त्यो अरूले खोल्न नमिल्ने गरी बनेको हुन्छ।

तपाईँसँग मात्र भएको साँचोबाट त्यसलाई खोल्न सम्भव छ।

बन्द हुने त्यस्तो बाकसको डिजिटल संस्करण भनेको ‘सार्वजनिक साँचोु हो भने तपाईँसँग हुनेचाहिँ ‘निजी साँचोु हो।

यस प्रणालीमा सबैतिरबाट विवरण सुरक्षित हुने भएकाले त्यसलाई गोपनीयता रुचाउने मानिसहरूले मन पराउँछन्। सन्देश सेवा चलाउने कम्पनीको पहुँचमा समेत त्यो हुँदैन।

तर अधिकारीहरूले त्यसलाई मन पराइरहेका छैनन् किनकि कुनै आपराधिक गतिविधिमा शङ्का भए तापनि तिनको सन्देश र तस्बिर हेर्ने वा संवाद सुन्ने लाभ उनीहरूलाई हुनेछैन।

के एन्ड–टू–एण्ड इन्क्रिप्शन खतरनाक छ?
यूकेमा चलिरहेको अभियानमा चाहिँ यसले बालबालिकामाथि खतरा थोपर्न सक्ने भन्दै चिन्ता व्यक्त भइरहेको छ।

नो प्लेस टु हाइड नाम दिइएको एउटा अभियानका प्रवक्ताले ईटूईई सुरु गर्नुलाई ‘अनलाइनका बाल यौन दुराचारीलाई पहिचान गर्न बत्ती बन्द गर्नुजस्तो’ बताएका छन्।

एन्ड–टु–एन्ड इन्क्रिप्शन भएको ह्वाट्सएपको झण्डै दुई अर्ब प्रयोगकर्ता छन्

उनीहरूको विचारमा प्रहरीले पीडकले बालबालिकालाई फेसबुक म्यासेन्जरमा पठाउन सक्ने सन्देशलाई पढ्न नसक्ने भन्दै आएका छन्।

अमेरिकाको न्याशनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन (एनसीएमईसी) का अनुसार सन् २०२० मा मात्र अमेरिकामा सामाजिक सञ्जालमार्फत् बाल यौन दुर्व्यवहारसँग जोडिएका २ करोड १७ लाख उजुरी भएका थिए।

ईटूईईलाई यदि यस ढङ्गले अघि बढाइयो भने बर्सेनि १ करोड ४० लाख त्यस्ता उजुरी हराउने अभियानकर्मीहरूको मत छ। उनीहरूले बालबालिका र गोपनीयता दुवैलाई सुरक्षित पार्ने उपाय निकाल्न प्रविधि कम्पनीलाई सघाउने बताएका छन्।

फेसबुकले के भन्छ?
उसले मानिसहरूको गोप्य कुराकानी र अनलाइनमा प्रयोगकर्तालाई सुरक्षित राख्ने काम गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।

उक्त कम्पनीले अस्वाभाविक गतिविधि देखिएको अवस्थामा मेसिन लर्निङ्ग सहितका कयौँ उपाय अपनाइने जनाएको छ।

उसले १८ वर्ष मुनिका प्रयोगकर्तालाई साथीहरूसँग मात्र संलग्न हुन सकिने वा निजी खाता बनाइने स्वचालित व्यवस्था राख्ने जनाएको छ।
बिबिसिबाट

Loading...