एउटा स्कुटर मात्र भएका कपिल शर्मालाई किन प्रेम गरेकी थिइन् गिन्नीले?

काठमाडौं, २९ पुस । भारतीय कमेडियन तथा अभिनेता कपिल शर्माको नेटफ्लिक्समा नयाँ कार्यक्रम आउँदैछ।

‘आइ एम नट डन येट’ नामक उक्त कार्यक्रमको गत सोमबार मात्र ट्रेलर सार्वजनिक भएको हो।

हाल सोनी टिभीमा ‘द कपिल शर्मा शो’ चलाइरहेका कपिलको यो कार्यक्रम पनि कमेडी विधाकै हो। यसलाई नेटफ्लिक्सले कपिलको विशेष कमेडी कार्यक्रम भनेर प्रचार गरेको छ।

कार्यक्रममा कपिलले धेरैजसो आफ्नो वास्तविक जीवनमा भएका घटनाक्रमलाई जोडेर दर्शक हँसाउने प्रयास गरेका छन्।

कपिल आफैंले पनि भन्छन्, ‘आइ एम नट डन येट मेरो वास्तविक जीवनसँग मेल खान्छ।’

उनले यसमा आफूले मदिरा पिएर गरेका गल्तीहरूबारे पनि मजाक बनाएका छन्। चाहे त्यो उनले मदिराको नशामा गरेको ट्विटबारे होस्, वा विवाद। अझ उनले यी ट्विटहरू आफूले नभएर मदिराले गरेको समेत भनेर दर्शक हँसाउँछन्।

आइ एम नट डन येटको ट्रेलरमा कपिलका सहकर्मीका साथै अन्य थुप्रै कलाकारलाई देख्न सकिन्छ। यसमा कपिलकी आमा जनक रानी र श्रीमती गिन्नी चटरथ पनि देखिएका छन्।

गिन्नी त कार्यक्रममा देखिएकी मात्र होइन, कपिलको प्रस्तुतिको हिस्सा पनि बनेकी छन्।

कपिलले ट्रेलरमा आफैंसँग जोडेर रमाइला कुरा सुनाउँछन्।

‘मलाई बुवाले दिदीबहिनीको बिहे गरिदिन र आफ्नो पनि परिवार सुरू गर्न भन्नुभएको थियो,’ उनी थप भन्छन्, ‘तर मलाई मैले कोसँग घर बसाउँछु भन्ने थाहा थियो, उनी थिइन् गिन्नी, मेरी श्रीमती।’

कपिल यसपछि स्टेजबाटै गिन्नीलाई सोध्छन्, ‘एक स्कुटर मात्र भएको केटोसँग के सोचेर प्रेम गर्‍यौ?’

दर्शकमाझ बसेकी गिन्नीले पनि कपिलकै शैलीमा जवाफ दिन्छिन्, ‘धनी केटालाई त सबैले प्रेम गर्छन्। मलाई लाग्यो एउटा गरिब केटोको पनि भलो गरिदिऊँ।’

यसपछि हाँसो गुन्जिन्छ। कपिल भने एकछिन चुप रहन्छन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका कपिल र गिन्नीले सन् २०१८ को डिसेम्बरमा बिहे गरेका थिए। उनीहरूका दुई वर्षीया छोरी अनायरा र ११ महिनाका छोरा त्रिसान छन्।

कपिलको ‘आइ एम नट डन येट’ कार्यक्रम यस्तैयस्तै रमाइला कमेडी र संवादले भरिएको छ र आगामी जनवरी २८ मा रिलिज हुँदैछ।

Loading...