निगममा नयाँ विमान थप्न नेपाल सरकारले सहयोग गर्ने छ – मन्त्री आले

कम्पनि मोडलमा लैजाने प्रक्रिया स्थगित

पुष ६, काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री प्रेम बहादुर आलेले नेपाल वायु सेवा निगममा नयाँ विमान थप्न नेपाल सरकारले सहयोग गर्ने बताउनु भएको छ।
मन्त्री आलेले एनएसी क्लवको पुनस्थापनाको समुद्घाटनका क्रममा उक्त कुरा बताउनु भएको हो। मन्त्री आले तथा मन्त्रालयका सचिव महेश्वर न्यौपानेको सम्मानमा कार्येक्रम आयोजना गरिएको थियो।
समारोहलाई सम्वोधन गर्नुहुँदै माननीय मन्त्रीले विमान कम्पनीसाँग पर्याप्त विमान नहुनु विडम्बना भएको बताउनु भयो। उहाले आफूले दवावमा परेर काम नगर्ने दृढता व्यक्त गर्दै निगमसँग भएको दक्ष प्राविधिक एवं प्रशासनिक जनशक्तिलाई पूर्ण उपयोग गरी जहाजको संख्या बढाउने र भाडा प्रतिस्पर्धी गर्ने बताउनु भयो । निगमलाई कम्पनीकरण नगरिने मन्त्रीस्तरिय निर्णय भएको पनि जानकारी गराउँदै निगमको उन्नति र प्रगतिमा साथ दिएर राष्ट्रिय ध्वजावाहकको गरिमा बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मन्त्रालयका सचिव श्री महेश्वर न्यौपानेले कर्मचारीको प्रतिवद्धता उडानमा नियमितता र सेवाको गुणस्तरमा बृद्धि गरी निगमलाई माथि उठाउन सकिने बताउनु भयो । उहाँले संस्थाप्रति विश्वसनीयता बढाउँदै अरुको कुदृष्टि रोक्न निगममा सामुहिक प्रयास गर्नुपर्ने बताउनु भयो ।
निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारीले ९९ प्रतिशत कर्मचारी निगमप्रति प्रतिवद्ध भएको परिणाम स्वरुप खतराजन्य सामान ढुवानी गर्ने दायित्व पाएको, ख्यातिप्राप्त विमान कम्पनीले निगमको टिकट उपयोग गर्ने सहमति गरी निगमले विश्वमा प्रतिष्ठा आर्जन गरेको र अन्तर्राष्ट्रिय बिक्री कक्षमा नेपाली उत्पादन बिक्री गर्ने बिक्रीकेन्द्र खोली नेपाली घरेलु उत्पादनको बजार विस्तारमा सहयोग पु¥याउने प्रयास गरेको जानकारी गराउनु भयो ।
उहाँले उडानको नियमितता बढेको यात्रुसंख्या सीट क्षमताको ८० प्रतिशत सम्म पुगेको जानकारी गराउँदै मध्यपूर्वको रियादसम्म उडान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनु भयो ।
समारोहमा वरिष्ठ पाईलट विजय लामा कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगी, कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवर र संगठनका अध्यक्ष राजु श्रेष्ठले निगमका कर्मचारी सँधै सकारात्मक सोचाईमा रहेको बताउँदै हाल निगमले सुधारात्मक कदम चालिरहेको बताउनु भयो र निगममा प्रतिस्पर्धी वायुसेवाको चलखेल रोक्न स्वार्थ बाझिने व्यक्तिहरुको नियुक्ति खारेजीको माग गर्नुभयो ।

यसैगरि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काललाई कम्पनी मोडलमा लैजाने प्रक्रिया कार्यान्वयन नगर्ने जानकारीसहितको पत्र निगमलाई पठाएको हो । ध्वजावाहक जहाजलाई त्रिपाल हालेर सुकाउने अनि निजी जहाजमात्र उडाउनुपर्ने अवस्था निगमको हितमा नरहेको उनको भनाइ थियो ।

निगमसँग प्रत्यक्ष अप्रत्यक्ष एक हजार दुई सय कर्मचारी रहेको तर त्यसको अनुपातमा जहाज अत्यन्त न्यून रहँदा निगम पछाडि परेको पनि मन्त्री आलेले बताए । मर्मतकै लागि करोडौँ रुपियाँ लाग्ने अवस्थामा बजेटको व्यवस्थापन पनि नरहेको उनको भनाइ थियो । दैनिक डेढ करोडभन्दा बढी घाटा रहेको ५०औँ अर्ब ऋण रहेको अवस्थामा निगमको सुधारका लागि धेरै गर्नुपर्ने अवस्था रहेको पनि उनले बताए । कार्यक्रममा मन्त्री आलेले निगमको सुधारका लागि आफूले सहयोग गर्न तयार रहेको बताउनु भयो  ।

निगमका लागि आवश्यक जहाजको अध्ययन गरेर मन्त्रालयमा पठाए आफूले त्यसका लागि पहल गर्ने उनले जानकारी दिए। त्यस्तै, अलपत्र अवस्थामा रहेको निगमको जग्गाको खोजी गरेर त्यसमा भवन बनाएर भाडामा दिँदा पनि निगमलाई आम्दानीको बाटो खुल्ने उनले बताउनु भयो ।

Loading...