सिन्धुपाल्चोकको हेलम्बुमा गोठमा आगलागी, तीन बालकको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बुमा घरसँगै गरेहेको स्थानीय सन्त तामाङको एक तले गोठमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले दिएको जानकारी अनुसार सोमबार बेलुका सात बजेतिर हेलम्बु–७ सरसिङका सन्त तामाङ गोठमा आगलागी हुँदा तीनजनाको घटनास्थलमै ज्यान गएको हो ।

मृत्यु हुनेमा गोठमा बसिरहेका सन्तका छोरा ६ वर्षका मनोज, स्थानीय सुकमान तामाङका छोरा पाँच वर्षका मनिष तथा साइला तामाङका छोरा पाँच वर्षका दिलबहादुर रहेका छन् ।

डिएसपी बस्नेतले भने, ‘घरमा कोही नभएको बेला पराल तथा मकैको खोस्टा राखिएको गोठमा आगलागी भएको र त्यहाँ रहेका तीन बालकको मृत्यु भएको हो । बस्तुभाउलाई कुँडो पकाउनका लागि बालिएको आगोबाट घटना भएको देखिन्छ ।’

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो बेलुका साढे ८ बजेतिर नियन्त्रणमा लिए पनि बालकहरुलाई बचाउन नसकिएको उनले बताए । मृतकको शव अहिले पनि घटनास्थलमै रहेको डिएसपी बस्नेतले बताए ।

Loading...