प्रधानन्यायाधीशको अधिकार कटौती, गोलाप्रथाले वैधानिकता पायो

काठमाडौँ । सर्वोच्च अदालत नियमावली २०७४ दोस्रो संशोधन राजपत्रमा प्रकाशित भएको छ । नियमावली राजपत्रमा प्रकाशित भएसँगै सर्वोच्च अदालतका प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती भएको छ ।

मुद्दाको पेशी प्रधानन्यायाधीशले आफ्नो तजविजीमा तोक्दै आएकोमा अब गोलाप्रथाबाट पेशी सूचीकरण हुने भएको छ ।

यही मंसिर २ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकको फुलकोर्ट बैठकले प्रधान्यायाधीशको अधिकार कटौती गर्ने गरी नियमावली संशोधन गरेको थियो । सो संशोधन सोमबार राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुने भएको हो । अब सबै अदालतमा गोलाप्रथाबाट पेशी तोकिने छ ।

न्यायालय सुदृढीकरणको बाधक प्रधान्यायाधीश राणा भएको भन्दै सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिस्कार गरिरहेका छन् भने नेपाल बार एसोसिएसनले राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । आन्दोलनकैबीचमा फुलकोर्टको बैठक बसेर प्रधानन्यायाधीशको अधिकार कटौती गर्नेगरी नियामवली संशोधनको निर्णय गरेको थियो ।

Loading...