कोरोनाविरुद्धको फाइजर खोप कात्तिक २८ देखि लगाइँदै

काठमाडौँ । कोरोनाविरुद्धको फाइजर खोप यही कात्तिक २८ देखि मंसिर ४ गतेसम्म लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन लागेको जानकारी दिए।

नेपाललाई अमेरिकाले एक लाख ६२० डोज फाइजर खोप उपलब्ध गराएको थियो।

मन्त्रालयले दीर्घरोगी भएका १२ वर्ष उमेरदेखि माथिका व्यक्तिलाई फाइजर खोपको दुई मात्रा दिइने बताएको छ।

खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचारसम्बन्धी पुर्जा लिएर जान भनिएको छ। खोप मन्त्रालयले देशभरिका विभिन्न २४ वटा अस्पतालबाट लगाउने भएको छ।

मन्त्रालयका अनुसार मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपण गराएका, डायलासिस गराइरहेका, जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोग, अंग प्रत्यारोपण गरेका, उच्च रक्तचाप, मधुमेह भई उपचार गराइरहेकालाई फाइजर खोप दिइने छ।

यस्तै, रोग प्रतिरोधात्मक क्षमता कम भएका, मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएकालाई पनि फाइजर खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए।

Loading...