चित्रकला प्रदर्शनीमा महामारीको झल्को

झण्डै डेढ वर्षपछि आर्ट ग्यालरीको भ्रमण गर्न पाउँदा मीरा चौधरी रोमाञ्चित थिइन्। ब्याचलर्स अफ फाइन आर्टको पहिलो वर्ष अध्ययन गरिरहेकी उनी चित्र खोजीखोजी हेर्छिन्।

लकडाउनपछि पहिलो पटक बबरमहलस्थित आर्ट काउन्सिलमा चित्र केलाइरहँदा पहिले भन्दा फरक अनुभूति गरिन् मीराले। ‘महामारीका समयमा बनाइएका पेन्टिङमा सोही समयको झलक पाएँ,’ उनले सुनाइन्, ‘केही अमूर्त चित्रमा लकडाउनमा मानिसको मनस्थिति चित्रित गरिएको महसुस गरेँ।’

हिमालयन आर्ट फेस्टिवल सन् २०१७ देखि सुरु भएको थियो। लकडाउनका कारण २०२० मा हुन सकेको थिएन।  ‘यो वर्ष पनि हामी द्विविधामा नै थियौं। तर जोखिम मोलेरै पनि प्रदर्शनी सुरु ग¥यौं,’ आयोजकसमेत रहेका कलाकार भाइराजा महर्जनले भने।

कलाकार एरिना ताम्राकारको चित्रमा एउटी महिला सुनौलो मास्क लगाएर आँखा चिम्लिरहेकी छन्। ‘मास्क अहिले सुनभन्दा पनि महत्वपूर्ण छ हाम्रो लागि,’ एरिना आफ्नो चित्रतर्फ इंगित गर्दै सुनाउँछिन्।

एरिनाले लकडाउनमा महामारीकेन्द्रित थुप्रै चित्र बनाइन्। उनका अधिकांश चित्रहरूमा त्रासदीपूर्ण समयलाई चित्रण गरिएका थिए। प्रदर्शनीमा राखिएका एरिनाका चित्रमा महिलाले भोग्ने संघर्षका शृंखला पनि भेटिन्छन्। उनको पहिलो चित्रमा महिला उदास मुद्रामा आँखा बन्द गरिरहेकी छन्। त्यसपछिको चित्रमा आँखा खोलेकी छन्। र निधारमा चन्द्रमा चम्किएको छ।

‘महिलाहरू कठोर संघर्षबाट गुज्रिँदै आफ्नै बुताले जुन भेटाउन सक्छन्,’ एरिना भन्छिन्।

कलाकार प्रमिला बज्राचार्यको चित्रले भन्छ– एउटी महिला परम्पराको जन्जिरलाई तोड्दै संघर्ष गर्छिन्। र, सफल हुन्छिन्। चित्रमा उनले परम्परागत र आधुनिक समयको मिश्रण गरेकी छन्। लकडाउनको सुरुमै थुप्रै चित्र प्रमिलाले महामारीले पारेका असरबारे बनाइन्। तर, जुन समय जग्जगीपूर्ण तरिकाले भोगिएको छ, त्यसकै चित्र बनाइरहन उनलाई दिक्क लाग्यो। त्यसपछि फरक किसिमका चित्रहरू बनाउन थालिन्।

प्रमिलाले बनाएको अमूर्त चित्र भने जीवनका विभिन्न रङबारे छन्। ती रङ जुन समयअनुसार परिवर्तन भइरहन्छन्।

कलाकार भाइराजा महर्जनको चित्रमा नयाँ र पुरानो पुस्ताबीचको दुरीलाई उतारिएको छ। उनका चित्रमा वृद्ध महिला उदास मुद्रामा एक्लोपन अनुभूत गरिरहेका भेटिन्छन्।

‘आधुनिकीरणले मानिसहरू व्यस्त हुन थाले। नयाँ पुस्ता स्वार्थी भयो। पुराना पुस्तालाई न समय दिन्छन् न उनीहरूको अर्तिउपदेश नै सुन्छन्, ’ भाइराजा भन्छन्।

लकडाउनपछि पहिलो पटक चित्रकला प्रदर्शनी गर्न पाउँदा भाइराजा उत्साहित छन्। लामो समय घरभित्र थुनिएर चित्र मात्र बनाइरँदा उनी खुसी थिएनन्।

लकडाउनको बेला भाइराजाले एउटा चित्र बनाए, जसमा भगवानलाई पनि मास्क लगाइदिएको थियो। ‘काठमाडौंमा भगवान पनि सुरक्षित छैनन् भन्न खोजेको थिएँ,’ उनी सुनाउँछन्। 

तर, पछि उनले महामारीको ह्याङबाट उत्रेर फरक किसिमका चित्र बनाउन कोसिस गरे। भदौ १४ गतेबाट सुरु भएको प्रदर्शनी २१ गतेसम्म चल्नेछ। प्रदर्शनीमा ६५ जना कलाकारको करिब २ सय चित्र राखिएमा छन्।

Loading...