आर्थिक सर्वेक्षणः कोभिडबाट सबैभन्दा बढी प्रभावित बन्यो पर्यटन क्षेत्र

काठमाडौं । कोभिड १९ को महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको अर्थ मन्त्रालयले जनाएको छ।

आर्थिक सर्वेक्षण जारी गर्दै मन्त्रालयले पर्यटन क्षेत्रमा उच्च संकुचन हुने उल्लेख गरेको छ। सन् २०१९ मा विदेशी पर्यटक २.१ प्रतिशतले बढेकोमा महामारीका कारण ८०.८ प्रतिशतले घटेको थियो।

सन् २०२० मा २ लाख ३० हजार पर्यटक मात्रै भित्रिएको सर्वेक्षणले देखाएको छ। कोभिड १९ रोकथापका लागि स्थगन गरिएका अन्तर्राष्ट्रिय उडान पूर्णरुपमा सुचारु हुनसकेको छैन।

लकडाउन खुकुलो भएसँगै आन्तरिक उडान भने निषेधाज्ञाअघि पूर्ण क्षमतामा सञ्चालनमा रहेको मन्त्रालयले उल्लेख गरेको छ।

होटल तथा रेष्टुरेन्ट क्षेत्र ११.२ प्रतिशतले विस्तार हुने

गत आर्थिकवर्ष ३७ प्रतिशतले संकुचनमा रहेको होटल तथा रेष्टुरेन्ट क्षेत्र चालू आर्थिक वर्षमा भने ११.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

कोभिड १९ को कारण अतिप्रभावित होटल क्षेत्र लकडाउन खुकुलो भएसँगै उल्लेख्य सुधार भएको अर्थ मन्त्रालयको विश्लेषण छ।

कोरोनाको दोस्रो लहरका कारण अधिकांश ठाउँहरुमा निषेधाज्ञा लागू भएकाले अनुमानित वृद्धिदर हासिल हुन कठिन हुने देखिएको उल्लेख गरेको छ।

सरकारले कोभिडको संक्रमण घटेको समयमा आन्तरिक पर्यटनका गतिविधि पुनः सुचारु भएकाले क्षेत्रको विस्तार सन्तोषजनक हुने दाबी गरेको हो।

आर्थिक वर्ष २०७५÷०७६ मा होटल तथा रेष्टुरेन्ट क्षेत्रको कुल मूल्यअभिवृद्धि १.९ प्रतिशत रहेको थियो। गत आर्थिक वर्ष ०७६÷७७ मा १.५ प्रतिशतमा रहेको मूल्यअभिवृद्धि दर यो वर्ष १.६ प्रतिशत पुग्ने अनुमान रहेको छ।

घरजग्गा कारोबार क्षेत्र साढे २ प्रतिशतले बढ्ने

चालू आर्थिक वर्षमा घरजग्गा कारोबार क्षेत्र २.६ प्रतिशतले बढ्ने अनुमान रहेको छ।

अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षणमार्फत कुल मूल्यअभिवृद्धि गत वर्षको तुलनामा बढ्ने अनुमान गरेको हो।

गत आर्थिक वर्ष २.४ प्रतिशतको वृद्धिदर रहेको थियो।

आर्थिक वर्ष ०७५/०७६ मा रियल स्टेट तथा व्यावसायिक सेवा क्षेत्रको ६.१ प्रतिशत कुल मूल्य अभिवृद्धि रहेको अर्थ मन्त्रालयकै तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष ०७५/०७६ मा कुल गार्हस्थ्य उत्पादनमा ११.६ प्रतिशत योगदान रहेको थियो।

महामारीका बीच गत वर्ष ०७६/०७७ मा ९.२ प्रतिशत योगदान रहँदा चालू आर्थिक वर्षमा ९.४ प्रतिशत योगदान रहने अनुमान गरिएको छ।

Loading...