कोविडको संक्रमण विरुद्ध लड्न एकै दिन ७ वटा अस्पतालसँग काठमाडौँ महानगरले गरे सम्झौता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोविडको संक्रमण विरुद्ध लड्न शुक्रबार ७ वटा अस्पतालसँग सम्झौता गरेको छ ।
अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर संक्रमणमा परेका विरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पतालहरुलाई अनुदान दिने गरी सम्झौता गरेको हो ।

यस अघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई २५ गते १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ । त्यस्तै बैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन सम्झौता भइसकेको छ ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले र अस्पतालकातर्फबाट सम्बन्धित अधिकारीहरुले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘ यहाँ कसैलाई जटिल समस्या भयो भने लानु पर्ने अस्पताल नै हो । त्यसैले हामीले भौतिक संरचना, विशेषज्ञ जनशक्ति र प्रणाली भएका सामुदायिक र सरकारी अस्पतालको क्षमता बढाउने निर्णय गरेका हौँ । यसले महामारी विरुद्धको लडाइँ प्रभावकारी हुन्छ भन्ने हामीले ठानेका छौँ । यो सहकार्य त्यसैका निम्ति हो ।’

सम्झौतापछि उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, भन्नुभयो, हामीले अस्पतालहरुसँग गरेको सहकार्यबाट विरामीहरुमा लाभ पुग्ने आशा छ । त्यहीअनुसार सेवा व्यवस्थापन गर्नुहोला ।’

सम्झौता भएका अस्पतालमध्ये वीरेन्द्र सैनिक अस्पताललाई सामाखुशीमा रहेको राधा स्वामी सत्संग ब्यासको भवनमा महानगरपालिकाको नामबाट अक्सिजन सहितको आईसोलेसन केन्द्र सञ्चालन गर्नेछ । जेठ १ गतेबाट ६ महिनाका लागि गरिएको सम्झौताबमोजिम काम सुरु गर्न महानगरले पहिलो किस्तास्वरुप २ करोड रुपैयाँ उपलब्ध गराउनेछ । त्यसपछिको अनुदान खर्च फाँटवारीमा आधारित हुनेछ । सम्झौतामा अस्पतालकातर्फबाट सहायक रथी कमाण्डान्ट डा. अरुण शर्माले हस्ताक्षर गर्नुभएको छ ।

महानगरले छत्रपाटी निःशुल्क चिकित्सालयलाई ३५ वेडको काठमाडौँ महानगरको कोविड अस्पतालका रुपमा सञ्चालन गर्नेछ । यसको पूर्वाधार विकासका लागि करीव ३० लाख रुपैयाँ र ३५ बेडको कोविड विशेष अस्पतालको समग्र व्यवस्थापन र आवश्यक जनशक्तिका लागि महानगरले मासिक करीव ४८ लाख रुपैयाँ व्यहार्नेछ । यो सम्झौता कोविडको महामारीका विषयमा महानगरले अर्को निर्णय नगरेसम्मका लागि हो । सम्झौताबमोजिम अस्पतालले खरिद गर्ने ३ वटा भेन्टिलेटरका लागि विलअनुसारको रकम महानगरले अनुदान स्वरुप उपलबध गराउनेछ । सम्झौतामा अस्पतालकातर्फबाट अध्यक्ष डा. मनोजमान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सम्झौता जेठ ७ गतेबाट लागु हुनेछ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १५ वटा भेन्टिलेटर र ५० थान मोनिटर खरिद गर्ने रकम महानगरले अनुदान स्वरुप उपलब्ध गराउनेछ । सम्झौताबमोजिम अस्पतालहरुले खरिद गर्ने उपकरणहरुको भुक्तानीका लागि महानगरले विलबमोजिमको रकम अनुदान स्वरुप दिनेछ । सम्झौतामा अस्पतालका निमित्त निर्देशक प्रा.डा.शान्ता कुमारी कँडेल सापकोटाले हस्ताक्षर गर्नुभएको छ ।

निजामति कर्मचारी अस्पतालले महानगरसँग कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप) १०–थान र वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप) १०–थान खरिद गर्न सहयोगको माग गरेको थियो । यही मागअनुसार दुवै पक्षविच सम्झौता भएको छ । यसमा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. विधाननिधि पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

महानगरले महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, बसुन्धरा, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, चावहिल र जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौँ मोडल अस्पताल, बागबजारलाई २÷२ थान भेन्टिलेटर मेसिन खरिद गर्न आर्थिक अनुदान दिनेछ । यी अस्पतालहरुलाई दिइने अनुदान रकम पनि विलबमोजिम नै हो । यी अस्पतालकातर्फबाट क्रमशः अध्यक्ष कृष्णकुमार मगर, मेडिकल डाइरेक्टर डा. हेम लिम्बू र मेडिकल डाइरेक्टर डा. विजेन्द्रध्वज जोशीले हस्ताक्षर गर्नुभएको थियो ।

महानगरले अनुदान दिएका अस्पतालहरुले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनुपर्छ । यस्तै खर्च र लेखा परीक्षण प्रचलित कानुनले दिएको अधिकारबमोजिम गर्नुपर्छ । लेखा परीक्षणको प्रतिवेदन महानगरलाई पनि बुझाउनु पर्छ । यसै गरी महानगरको सहयोगमा खरिद गरिएका उपकरणमा ‘काठमाडौँ महानगरको सहयोगमा’ लेख्नुपर्नेछ । परिस्थिति र आवश्यकताका आधारमा सम्झौता थप गरेर साझेदारिता निरन्तर हुन सक्ने सम्झौतामा उल्लेख छ ।

Loading...