कोविड विरुद्ध लड्न गंगालाल,शुक्रराज ट्रपिकल , नेपाल कोरिया मैत्री अस्पताल संग महानगरपालिकाले गरे सम्झौता

 काठमाडौँ । कोविडको संक्रमणबाट विरामी भएका नागरिकलाई सहज उपचार सेवाका लागि काठमाडौंँ महानगरले आज सहिद गंगालाल ५ थान भेन्टिलेटर, शुक्रराज ट्रपिकल अस्पतालसँग सहयोग सम्झौता गरेको छ ।

महानगरले आज सम्झौता भएका अस्पतालहरुलाइ १० वेडको स्टाफ अव्जर्वेसन कक्ष स्थापनाका लागि करीब ११ लाख रुपैयाँ नगद र १० हजार थान अट्राक्टस किट खरिद गर्दाको बिलबमोजिम भुक्तानी गर्नुपर्ने रकम बराबर अनुदान सहयोग गरेको हो ।
‘ हाम्रो चाहना भेन्टिलेटर खरिद गर्नुभन्दा संक्रमण घटाएर स्वच्छ समाज निर्माण गर्नु हो । तर, महामारी फैलियो । अबको आवश्यकता भनेको अस्पतालमा भार घटाउनु नै हो ।’ मेयर शाक्यले बताउनु भयो ।

त्यस क्रममा मध्यपुर थिमी नगरका प्रमुख मदनसुन्दर श्रेष्ठले, महानगरले अस्तालहरुलाई गरेको सहयोग अनुकरणीय रहेको उल्लेख गर्नुभयो । ‘भनेजस्तो गरेर अहिले ठूला अस्पताल बनाउन र सञ्चालन गर्न सजिलो छैन । यसबेला सजिला सर्त राखेर महानगरले अस्पतालको क्षमता बढाउन अनुदान उपलब्ध गराएको छ । यसबाट महानगरको अभिभावकीय भूमिका अझ बढेको छ ।’ उहाँले मध्यपुर थिमी नगरले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको क्षमता बढाउन महानगरले उपलब्ध गराएको सहयोगबाट अन्तरनगर सम्बन्ध अझ प्रगाढ भएको उल्लेख गर्नुभयो ।
‘काठमाडौँ महानगरले स्थापना गरिदिएको अक्सिजन प्लान्टका कारण अहिले गंगालाल अस्पतालले अक्सिजन खोज्न हिँड्नु परेको छैन । अहिलेको यो विषम परिस्थितिमा अस्पताललाई अक्सिजन खोज्नु जानु नपर्ने बनाउनु महानगरको सहयोग वास्तवमै अनुकरणीय छ ।’ गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले भन्नुभयो, ‘अब भेन्टिलेटर प्राप्त हुने भएको छ । यसको प्रयोगले अहिले कोविड भएका विरामी र पछि मुटुको शल्यक्रिया गरेका विरामीलाई जीवन रक्षा गरिनेछ ।’ उहाँकाअनुसार अस्पतालले यस अघि विरामीलाई अक्सिजन र भेन्टिलेटरको अतिरिक्त शुल्क लिएको छैन । अब पनि लिने योजना छैन ।

‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको समस्या अरुभन्दा भिन्न छ ।
अन्यत्र कतै पनि भर्ना नपाएका विरामी हामीकहाँ आउनुहुन्छ । ठाउँ नहुँदा हामीलाई बेड चाहिँदैन । बाहिरै भए पनि अलिकति अक्सिजन सुँघ्न पाए हुन्छ भन्नुहुन्छ ।’ अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारी भन्नुहुन्छ, ‘विकास समितिअन्तर्गत चलेको यो अस्पतालका केही कर्मचारीहरुको सेवा कसरी उपलब्ध गराउने अस्पताललाई यो चिन्ता छ । नियमित आय छैन । अहिले महानगरबाट सहयोग पाए पछि आशा बढेको छ । हौसला मिलेको छ । यसप्रकारको सहयोग निरन्तर हुन्छ भन्ने अपेक्षा पनि छ ।’

महानगरले यस अघि बैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई २५ गते १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ । त्यस्तै बैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन सम्झौता भइसकेको छ ।

बैशाख २८ गते महानगरले सरकारी र सामुदायिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर बढ्दो कोविडको संक्रमणविरुद्ध लड्न कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको थियो । यसपछि अस्पतालहरुले आफ्नो क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनका लागि सहयोग सम्बन्धी माग गरेका थिए । अस्पतालहरुको मागअनुसार सम्झौता गरिएको हो ।

यसअनुसार बैशाख ३१ गते वीरेन्द्र सैनिक अस्पताल, छत्रपाटी निःशुल्क चिकित्सालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, र जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौँ मोडल अस्पतालसँग सहयोग सम्झौता गरेको थियो ।

महानगरका प्रमुख शाक्यको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले र अस्पतालकातर्फबाट सम्बन्धित अस्पतालका अधिकारीहरुले हस्ताक्षर गर्नुभएको थियो । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु सहभागी हुनुहुन्थ्यो ।

महानगरले अनुदान दिएका अस्पतालहरुले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनुपर्छ । यस्तै खर्च र लेखा परीक्षण प्रचलित कानुनले दिएको अधिकारबमोजिम गर्नुपर्छ । लेखा परीक्षणको प्रतिवेदन महानगरलाई पनि बुझाउनु पर्छ । यसै गरी महानगरको सहयोगमा खरिद गरिएका उपकरणमा ‘काठमाडौँ महानगरको सहयोगमा’ लेख्नुपर्नेछ । परिस्थिति र आवश्यकताका आधारमा सम्झौता थप गरेर साझेदारिता निरन्तर हुन सक्ने सम्झौतामा उल्लेख छ ।

यो पनि पढ्नु होला –

कोविडको संक्रमण विरुद्ध लड्न एकै दिन ७ वटा अस्पतालसँग काठमाडौँ महानगरले गरे सम्झौता

https://nonstopkhabar.com/archives/63060?fbclid=IwAR3Fpz3_zXAld2qyoGTZqG7n1Z9hxPCFgCXzZI_yj1x-qFkyZ3cm5GLB7Uk

Loading...