चीनले अमेरिकालाई भन्योः ताइवानको विषयमा हस्तक्षेप गर्नु आगोसँग खेल्नुजस्तै हो

काठमाडौं ।चीनले अमेरिकालाई ताइवानको विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।

चिनियाँ विदेशमन्त्रीले वाङ यीले अमेरिकी प्रतिनिधिसँगको भिडिओवार्तामा सिधै ‘ताइवानको विषयमा हस्तक्षेप गर्नु आगोसँग खेल्नु बराबर हो’ भनेका हुन्।

चीनले ताइवानलाई आफ्नो भूमि भएको दाबी गर्दछ। तर चिनियाँ नीति ताइवानमा नचल्ने त्यहाँको राष्ट्रपति साइ इंग–वेनले बताउँदै गर्दा अमेरिकाले उसलाई हतियारहरु बेच्ने गरेको छ।

पछिल्लो समय अमेरिकी सरकारी अधिकारी ताइवान भ्रमणमा जाने चर्चा चलेको थियो। चीनले अमेरिकी प्रतिनिधि ताइवान आए ताइवानमाथि सैन्य आक्रमण हुने चेतावनी दिइसकेको छ।

यसबीचमा शुक्रबार यीले अमेरिकी विदेश मामिलाका लागि अमेरिकी काउन्सिल अध्यक्ष रिचर्ड हाससँग भिडिओ सम्मेलनमा अमेरिका र चीन सम्बन्धको बारेमा चर्चा गरेका थिए। सो क्रममा ताइवानको विषयमा हस्तक्षेप भएमा अमेरिकाले त्यसको परिणाम भोग्नुपर्ने चीनले बताएको हो।

सो भिडिओवार्तामा सिनजियाङको मानवअधिकार र हङकङको स्वतन्त्रताको विषयमा पनि कुराकानी भएको थियो। यी दुवै मामिलामा यीले अमेरिकालाई हस्तक्षेप नगर्न सुझाव दिएका छन्।उनले सिनजियाङमा उइगरमाथि गरिएको भनिएको दमनको विषय झुठो भएको र हङकङ एक देश दुई प्रणाली अनुसार चलेको क्षेत्र भएकाले चिनियाँ नीति अमेरिकाले स्वीकार गर्नुपर्ने बताए।

चीनको आफ्नो विकल्प खोज्न पाउने अधिकारमा अमेरिकी हस्तक्षेप अस्वीकार्य हुने र चीनले जस्तो बाटो अंगाले पनि त्यसको अमेरिकाले सम्मान गर्नुपर्ने यीले बताएको ग्लोबल टाइम्सले जनाएको छ।

अमेरिकाले चीनको शान्तिपूर्ण विकासलाई स्वीकार गर्छ कि गर्दैन भन्ने विषयले अमेरिका र चीनको भविष्य निर्धारण हुने उनको भनाइ छ। सो क्रममा यीले अमेरिकालाई लोकतन्त्र कोकाकोलाको स्वादजस्तो नभएको पनि बताएका छन्।

चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सका अनुसार चीनका विदेशमन्त्री वाङ यीले अमेरिकालाई भनेका छन्,‘लोकतन्त्र कोकाकोला होइन जसको स्वाद हरेक ठाउँ एकै हुन्छ।’

चीनमा पनि लोकतन्त्र भएको र त्यसको स्वरुप फरक भएको उनले बताएका हुन्। यीले दुई देशबीचको सुमधुर सम्बन्धका लागि अमेरिकालाई पाँच सुझावसमेत दिएका छन्।

Loading...