फर्जी समाचार बनाएर कराेडाै डलर कमाइ, नेपालमा नक्कली अनलाइनको यस्ताे छ बिगबिगी

एजेन्सी । नेपालमा नक्कली अनलाईन र फर्जी समाचारको बिगबिगी बढ्दो छ । चुनावी रौनक बढेसँगै फर्जी समाचार बनाएर पोष्ट गर्ने र त्यसलाई मास मेलिङ गर्ने प्रवृति पनि बढ्दो छ । त्यसैगरी नाम चलेका अनलाइनको जस्तै नाम बनाएर अनलाईन चलाउनेहरु पनि बढेका छन् । फर्जी समाचार बनाएर अरुको चरित्र हत्या गर्ने मात्र नभई त्यसबाट करोडौ आम्दानी गर्नेहरु पनि छन् । नक्कली समाचार बनाएर अरुका बारेमा गलत अफवाह फैलाउने र त्यसबाट राजनीतिक फाइदा लिने, पैसा र पदकाे बार्गेनिङ गर्नेदेखि भिजिटर बढाएर अनलाइन एडसेन्सबाट पैसा कमाउनेहरु पनि थुप्रै छन् ।  यो प्रवृति नेपालको मात्र नभई विश्वभर नै रहेको एक अध्ययनले जनाएको छ । हालै विश्वमा फर्जी समाचार र वेवसाइट चलाएर डलर कमाउनेहरुबारे एक रिपोर्ट सार्वजनिक भएको छ ।
साइबर अपराधीहरूले फर्जी समाचारलाई आम्दानीको राम्रो माध्यममका रूपमा विकास गर्दै कम्तीमा १० अमेरिकी डलरबाट सुरूगरी विभिन्न बिषयवस्तुको गम्भीरताका आधारमा मुल्य तय गरी लिने गरेको अमेरिकामा सार्वजनिक गरिएको एक अनुसन्धानमा सम्लग्न समूहले बिहीबार सार्वजनिक गरेको छ ।

‘डिजिटल स्याडोज’ नामक अनलाइन सुरक्षा फर्मले सार्वजनिक गरेको प्रतिवेदनले जनाए अनुसार प्रसिद्ध सञ्चारमाध्यमसँग मिल्दोजुल्दो नाम राख्ने, वेबसाइटको आफ्नै आकर्षक नाम दिने वा अर्काको चलेको वेबसाइटको नाममा एक दुई अक्षर छुट्टाउने र यिनै वेबसाइटबाट गलत उत्पादनको प्रवद्र्धन गरी आम्दानी गर्ने प्रवृति बढेको जनाइएको छ ।

उक्त अध्ययन प्रतिवेदनमा खोजकर्ताहरूले विभिन्न दुई हजार ८०० सञ्चालनमा रहेका यस्ता फर्जी वेबसाइट भेटेको पाएको जनाएका छन् । कतिपय अवस्थामा ख्याति कमाएका वेबसाइटमा एक दुई अक्षर हटाएर त कतिपय अवस्थामा सक्कलीजस्तो लाग्ने वेबसाइटको नाम दिएर साइबर अपराधजन्य क्रियाकलापमा लाग्ने गरेको उक्त अध्ययन प्रतिवेदनमा दावी गरिएको छ ।

केहीले रसियामा रहेका प्रचारक समूहजस्तै उपाय अपनाउने र वेबसाइटमा सामग्री प्रकाशन गरेवापत राम्रै मुल्य लिने गरेका बताइएको छ । यस्ता अपराधीले वैध कागजातलाई सामान्य परिवर्तन गर्ने र तिनीहरूलाई भ्रामक प्रचारबाजीका लागि समाजमा लाने गरेको उक्त समूहले जनाएको छ ।

कुनै राम्रो समाचार प्रसङ्गजस्तै यसरी बनेका ‘फर्जी समाचार’लाई आफ्ना सहयोगीमार्फत वितरण गर्ने, पुनः प्रकाशन वा प्रशारण गर्ने र बजारमा ल्याउने गरेका पाएउको छ, अध्ययनमा भनिएको छ ।

अपराधीले गलत सूचनालाई जति व्यापक रूपमा प्रचार गर्न सक्यो सर्वसाधारणको मनमस्तिस्कमा त्यति नै छाप पार्ने र यही नै आम्दानीको स्रोत बनाइने गरेको प्रतिवेदनमा छ । यस किसिमका भ्रामक प्रचारहरू आजभोलि राजनीतिमा पनि देखिन थालेका र यो गम्भीर चासोको बिषय बनेको अनुसन्धानमा सम्लग्न डिजिटल स्याडोका उप–प्रमुख रिक होल्याण्डले बताउनुभयो । यो भूराजनीतिभन्दा पर आर्थिक लाभका लागि प्रयोग हुनथालेपछि यसको प्रभाव इमान्दार व्यापार र उपभोक्ताबीच पनि पर्न थालेको हल्याण्डले बताए ।

Loading...