अफगानी भूमिमा युद्ध लडेको एक सैनिकको औपन्यासिक कृति ‘अफगानी रणमैदान’

काठमाडौं । साहित्यकार केदार संकेतद्वारा लिखित संस्मरणमा आधारित उपन्यास अफगानी रणमैदान बजारमा आएको छ । बुधवार राजधानीमा एक समारोहकाबीच उक्त कृतिको विमोचन गरिएको हो । बरिष्ठ साहित्यकार रोचक घिमिरे, समालोचक प्रा.डा. गोविन्दराज भट्टराई, समालोचक प्रा.डा.कुमार कोइराला साहित्यिक समालोचक नेत्र एटम, साहित्यकार पत्रकार तथा पत्रकार श्रीओम श्रेष्ठ रोदन, साहित्यकार इल्या भट्टराई लगायतले उक्त कृतिको सामूहिक रुपमा विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रमका प्रमुख अतिथि रोचक घिमिरेले नियात्रा लेख्न रुचाउने स्रष्टा संकेतको कृति अफगानी रणमैदान कृति निकै महत्वपूर्ण र पठनीय रहेको बताए । लेखक स्वयम युद्धमा सहभागी भएर लेखेकोले कृति जिवन्त रहेको र यो बौद्धिक खुराक भएको बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै प्रा.डा. गोविन्द भट्टराईले अफगानी रणमैदान जिवन्त कृति भएको बताए । लेखक संकेत भाषाको निकै प्रेम गर्ने सर्जकका रुपमा आफूले पाएको बताए । कृतिमा एक नेपालीले देशको चार सीमाना बाहिर गएर विश्व परिवेशको चित्रण गरेको र त्यहाँको अवस्थाका बारेमा लेखेकोले नेपालीले लेखेको विश्वसाहित्य र अर्को नेपालीले लेखेको एक युद्धसाहित्यका रुपमा अफगानी रणमैदानलाई लिनुपर्ने बताए ।

कार्यक्रमा बोल्दै प्रा.डा.कुमार कोइरालाले यो कृति एक आत्म जीवनीपरक उपन्यास भएको बताए । यसलाई आफूले नेपाली युद्ध साहित्यका रुपमा पाएको बताए । सेनामा जाने मान्छेहरु साहित्यकार वा लेखक कम हुने गरेको बताउँदै केदार संकेत आफै युद्धमा सहभागी भएर यो कृति तयार गर्नु महत्वपूर्ण भएको बताए । बेलायत बस्ने लेखक केदार संकेत अफगानस्थानमा सुरक्षा दलमा गएको र त्यही यात्रा वर्णनबाट यो कृति सुरु गरेको, त्यसपछि त्यहाँको तालिम क्याम्पका दैनिकी, अफगानस्थानको सैनिक क्याम्पमा के कस्ता क्रियाकलाप हुन्छन्, कस्ता कस्ता सैनिकहरु हुन्छन् भन्ने कुरा र त्यहाँ देखेभोगेको कुरा लेखेकोले यो निकै रोचक कृति भएको उनले बताए । यो कृति परम्परावादी आख्यान नभएर प्रयोग परक भएको उल्लेख गर्दै कोइरालाले आफ्ना यथार्थ कुरालाई औपन्यासिक ढाँचामा लेखिएको उपन्यास भएको बताए ।

त्यसैगरी साहित्यकार इल्या भट्टराईले लेखकले लेखेका अरु युद्ध कथा र अन्य कृति पनि सशक्त रहेको उल्लेख गर्दै युद्ध सम्बन्धि कथा पढेपछि उनी सशक्त कथाकार हुन भन्ने आफूलाई लागेको बताइन । उनले यो कृति उपन्यासको परम्परागत सिद्धान्तमा आधारित नभएको संस्मरणात्मक कृति जस्तो भएको बताइन ।

कार्यक्रममा बोल्दै समालोचक नेत्र एटमले अनुभूत गरेको वास्तविकताको अवलोकन, पात्रहरुसँगको अन्तवार्ता र डकुमेन्टेशनका हिसाबले केदार संकेतको कृति रहेको बताए । उनले एउटा कृति लेखकले तीन वटा लेखक पद्धतिहरु अपनाउने गरेको उल्लेख गर्दै यस कृतिमा लेखक केदार संकेत स्वयम् युद्धमा सहभागी भएकोले यो उनको कल्पना मात्र होइन, वास्तविकता भएको बताए । उनले भने, ‘दोस्रो लेखकले सामाग्री संकलन गर्न घटनासँग सम्बन्धित मानिसहरुसँग कुराकानी गर्छ, अन्तरवार्ता लिन्छ । सामाग्री संकलन गर्ने यो दोस्रो तरिका हो । लेखक केदार संकेतले धेरै युद्धमा सहभागी भएका पात्रहरुसँग गरिएका कुराकानी राख्नुभएको छ । त्यसैले यो आधिकारिक हो । तेस्रो, लेखकले कुनै अभिलेखबाट तथ्य संकलन गर्छ र सामग्री संकलन गर्छ । यहाँ लेखकले त्यस्ता चिठी, नक्सा अन्य सामग्रीहरु परिशिष्टमा ती सामाग्रीहरु राख्नुभएको छ । त्यसैले केदार संकेतले तीनवटै तरिकाबाट यो कृति तयार गर्नुभएको छ ।’

कार्यक्रममा लेखक केदार संकेतले भर्चुअल माध्यमबाट अफगानस्थानको काबुलबाटै आफ्नै आफ्ना कुरा राखेका थिए । उनले यो कृति अब पाठकहरुका सामु भएकोले अब आफूले केही भन्न नसक्ने र सबै कुरा पाठकले नै समीक्षा गर्ने अपेक्षा राखे ।

रामेछापमा जन्मिएका साहित्यकार केदार संकेत बिट्रिश सेनाका सेवानिवृत हुन । उनी अहिले पनि अफगानस्थानको काबुलमा अमेरिकी सैनिक क्याम्पमा काम गर्छन । उनका आफै जलेको देश (२०६४) कविता संग्रह, एथेन्सको झरी (२०६७) नियात्रा, पैयुका फूलहरु (२०६८) कविता संग्रह, संकेतका कविताहरु (२०६८) कवितासंग्रह, अफिम फुल्ने देश २०७० (खण्डकाव्य) लगायत केही यात्रा संस्मरणहरु प्रकाशित छन् ।

Loading...