कक्षा १२ मा ६९१६ परीक्षार्थीको ३.६१ देखि ४ जिपिए

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।

वैशाख/जेठमा नै लिइने कक्षा १२ को परीक्षा यसपालि कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । मंसिर ९ देखि १६ गतेसम्म परीक्षा सञ्‍चालन भएको थियो ।

प्राप्तांक शिक्षकले जथाभावी पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

सार्वजनिक नतिजा अनुसार ६ हजार ९१६ परीक्षार्थीको ३.६१ देखि ४ जिपिए आएको छ । यस्तै, ३.२१ देखि ३.६० जिपिए ल्याउने परीक्षार्थीको संख्या ३८ हजार ४८० रहेको छ । ७६ हजार ८४१ जनाले २.८१ देखि ३.२० जिपिए ल्याउँदा १ लाख ९ हजार ३१२ जनाको जिपिए २.४१ देखि २.८० आएको छ । २.०१ देखि २.४० जिपिए ल्याउने परीक्षार्थीको संख्या ५२ हजार ४२७ रहेको छ ।

यस्तै, १.६१ देखि २.० जिपिए ल्याउने परीक्षार्थीको संख्या ७ हजार १६४ रहेको छ । ३ सय ३३ जनाले १.२१ देखि १.६० जिपिए ल्याउँदा ४ जनाको जिपिए ०.८१ देखि १.२० आएको छ । ०.०० देखि ०.८० जिपिए ल्याउने परीक्षार्थीको संख्या १८ हजार ८३९ रहेको छ ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

Loading...