काठमाडौं मेयर्स कप, क्रिकेट प्रतियोगिताका लागि क्रिकेट संघलाई महानगरको ५० लाख सहयोग

काठमाडौं । काठमाडौं मेयर्स कप — २०७७ क्रिकेट प्रतियोगिता सञ्चालन गर्न काठमाडौं महानगरले नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा दुई पक्षबीच सहयोग सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भयो । सहमति पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले र संघका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गर्नुभयो ।
हस्ताक्षरपछि कार्यक्रममा बोल्दै प्रमुख शाक्यले महानगरको प्राथमिक क्षेत्र पूर्वाधार, सम्पदा पुनर्निर्माण र शिक्षा स्वास्थ्य भएको भन्दै खेलकुद क्षेत्रको विकास र प्रवर्दनका लागि विस्तारै लगानी बढाउँदै लगेको बताउनुभयो ।
प्रमुख शाक्यले फुटवल क्लवलाई जस्तै क्रिकेट क्षेत्रको विकासलाई पनि निरन्तर सहयोग गर्ने वातावरण निर्माण गर्न र सम्झौता अनुसार आग्रह गर्नुभयो । उहाँले अन्तराष्ट्रियस्तरमा पनि नेपालको पहिचान राख्न सफल क्रिकेटसँग आवद्ध संस्थालाई सहयोग गर्न पाउँदा खुशी लागेको पनि बताउनुभयो । उहाँले आगामी वर्षको बजेटमा खेलकुदलाई प्राथामिकता दिदैँ खेलाडीहरुको मनोवल थप उच्चो बनाउनेतर्फ केन्द्रित हुने पनि बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले, क्रिकेटले अन्तरराष्ट्रिय स्तरमा नेपालको ख्याती बढाएको बताउनुभयो । ‘यो प्रसिद्धी बढाउन थप मनोबल उच्चो बनाउन र महानगरको पहिचान पनि सँगै विस्तार होस् भनेर हामीले संघलाई सहयोग गरेका हौँ,’ ज्ञवालीले भन्नुभयो ।
नेपाल क्रिकेट संघका अध्यक्ष चन्दले काठमाडौँ महानगरपालिकाले नेपाली क्रिकेटको स्तर उकास्न र स्तरीय खेलाडी उत्पादनका लागि गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो । ‘हामी यो सहयोगबाट उत्साहित भएका छौँ । यो सहयोगले खेलाडीहरुको प्रतिभामा थप निखारता आउने अपेक्षा गरेका छौँ,’ अध्यक्ष चन्दले भन्नुभयो, ‘यस्ता प्रतिस्पर्धाले नेपाली क्रिकेटले विदेशमा प्रतिस्पर्धा गर्न र सफल नजिता प्राप्त गर्न थप सहयोग पुग्ने पनि अपेक्षा गरेका छौँ । यस बर्ष महानगरले गरेको लगानीलाई अर्को बर्ष थप गर्ने गरी हामी नतिजा देखाउँछौं र त्योसँगै अन्य स्थानीय तहका लागि पनि सकारात्मक सन्देश दिन चाहन्छौँ ।’
महानगरको सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीले संघलाई सम्झौताबमोजिम २ चरणमा अनुदान रकम प्रदान बताउनुभयो । ‘पहिलो चरणमा ६० प्रतिशत रकम उपलब्ध गराएपछि संघले सञ्चालन गरेका कार्यक्रमका आधारमा दोस्रो किस्ताको रकम दिइनेछ,’ उहाँले भन्नुभयो, ‘यस रकमबाट आउँदो चैत्र मसान्तभित्र खेलका कार्यक्रम सञ्चालन गरिसक्नुपर्नेछ 

Loading...