बीमा समितिको अध्यक्षमा पूर्व गृह सचिव सिलवाल नियुक्त

काठमाडौं, १९ माघ । बीमा समितिको अध्यक्षमा पूर्व गृह सचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई अध्यक्षमा नियुक्त गरेको हो।

चिरञ्जीबी चापागाईंको कार्यकाल पुसमा सकिएपछि अध्यक्ष पद रिक्त रहेको थियो। पुस २३ गतेबाट चापागाईको चार वर्षे कार्यकाल सकिएको थियो। अहिले नियुक्त भएका सिलवालको कार्यकाल आगामी ४ वर्षसम्म हुनेछ।

बीमा समितिको अध्यक्ष हुनको लागि बीमा ऐनमा बीमा क्षेत्रमा विज्ञता भएको हुनुपर्ने भन्ने तोकिएको छ तर त्यसको मापदण्ड भने उल्लेख गरिएको छैन। जसको कारणले निजामति सेवाबाट अवकास पाएका तथा नेपाल राष्ट्र बैंकबाट अवकास पाएकाहरुले नियुक्ती पाउँदै आएका छन्।

४ वर्ष अघि चापागाई नियुक्त हुँदा बीमा विज्ञ भएको व्यक्तिले नियुक्ती नपाएको भन्दै अदालतमा उजुरी परेको थियो। त्यो मुद्दा अहिलेसम्म सकिएको छैन्।

Loading...