चितवनमा संक्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी

चितवन । जिल्लामा कोरोना सङ्क्रमण वढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म सङ्क्रमित ७ सय ९६ मध्ये १ सय ९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन्।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीको रुपमा मानेको छ । सङ्क्रमित स्वास्थ्यकर्मीमा चिकित्सक, नर्स, पारामेडीक्स, एम्बुलेन्स चालक, सरसफाइकर्ता, अस्पताल प्रशासन हेर्ने छन् । कूल सङ्क्रमित मध्ये २४ प्रतिशत भन्दा वढी स्वास्थ्यकर्मी रहेको पाईएको छ ।

जिल्लामा सबैभन्दा वढी चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार ७ चिकित्सक, ३३ नर्स, १ पारामेडीक्स र ५ एटेण्डर (सहयोगी) गरी ४६ जना सङक्रमित भएकोमा दुई जना निको भएका छन्।

दोस्रो धेरै वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा ४३ जना सङ्क्रमित भएका छन् । अस्पतालका सूचना अधिकारी गिरीनारायण महतोका अनुसार चिकित्सक तीन, नर्स १९, पारामेडीक्स एक , प्रशासनका दुई र १८ जना सहयोगी सङ्क्रमित भएका छन्।

पुरानो मेडिकल कलेजमा ३६ जना सङ्क्रमित भएका छन् । कलेजका डा. प्रिया पाठकका अनुसार १० चिकित्सक, २० नर्स, तीन पारामेडीक्स र ३ जना सहयोगी सङ्क्रमित भएका छन्।

भरतपुर अस्पतालमा ३० जना सङ्क्रमित भएको सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। उनका अनुसार चिकित्सक सात, नर्स नौ, पारामेडीक्स चार, प्रशासनका दुई र सहयोगी ८ जना सङ्क्रमित भएका छन्।

एनपिआई नारायणी सामुदायिक हस्पिटलका ६ मध्ये चिकित्सक एक, नर्स दुई, प्यारामेडीक्स एक, प्रशासनका एक र सहयोगी एक रहेको अध्यक्ष डा. भक्तमान श्रेष्ठले जानकारी दिए।

यसैगरी सेन्ट्रल अस्पतालमा तीन नर्स र दुई सहयोगी, मौलाकालिका अस्पतालमा दुई नर्स र दुई सहयोगी, आशा अस्पतालमा दुई नर्स र एक पारामेडीक्स, रत्ननगर बकुलहर अस्पतालमा एक चिकित्सक र एक नर्स, मनकामना अस्पतालमा एक नर्स, पुष्पाञ्जली हस्पिटलमा दुई प्यारामेडीक्स र १ सहयोगी सङ्क्रमित भएका छन्।

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार निजी मेडिकलका तीन, नेपाल रेडक्रस सोसाईटीका एक प्राविधिक र एक एम्बुलेन्स चालक सङ्क्रमित भएका छन्। जिल्लाका सात पालिकामध्ये भरतपुर क्षेत्रमा काम गर्ने चार, खैरहनीमा दुई र राप्तीमा १ स्वास्थ्यकर्मी सङ्क्रमित भएको उनले जानकारी दिए।

अन्य दुई एम्बुलेन्स चालक पनि सङ्क्रमित भएका छन्।उपचारमा अहोरात्र खटिनेहरुनै सङ्क्रमित भएपछि अस्पतालको सेवा सञ्चालनमा कठीन भैरहेको निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायणसिंह कुँवरले बताए।

जिल्लाका स्वास्थ्य संस्था सबैले नियमीत तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालयमा अध्यावधिक नगरेको हुँदा सङ्ख्या अझ थप हुन सक्ने अनुमान गरिएको छ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित हुँदै गर्दा अन्यले पालो मिलाएर रातदिन उपचार गरेको बताए। स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा अस्पतालहरु नियमित सञ्चालनमा निकै असजिलो हुँने गरेको उनको भनाई थियो।

स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ्मा उनीहरुसँग काम गर्ने अन्य स्वास्थ्यकर्मी पनि पर्ने हुँदा अस्पताल वढी प्रभावित भएका छन्।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी र रत्ननगर वकुलहर अस्पतालका प्रमुख डा. विश्ववन्धु वगालेसमेत सङ्क्रमित भएपछि दुई अस्पताल निमित्तको भरमा चलिरहेका छन्।

Loading...