एक महिलाले जनकपुरधाममा जन्माइन चार सन्तान

जनकपुरधाम । जनकपुरधाममा एक महिलाले चार वटा बच्चा जन्माएकी छन्।

धनुषाको विदेह नगरपालिका वडा नम्बर–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलवार साँझ एकैपटक चार शिशुको जन्म दिएकी हुन्।

जनकपुरधामस्थित काव्या अस्पतालमा मंगलबार बिहान भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रिया मार्फत बच्चाहरु निकालेकी हुन्।

उनले यसलाई ‘दुर्लभ’ घटना बताएकी छिन् । अरमानाले तीन छोरी र एक छोरालाई जन्म दिएकी छिन् । शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ ।

शिशुहरु मध्ये तीनको स्वास्थ्य अवस्था सामान्य रहेपनि एक जनाको अवस्था भने अस्थिर देखिएको काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंहले बताए । यता चार बच्चाको जन्म दिएकी अरमानाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

उनको फोक्सोमा पानी तथा रगतको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएकोले चिकित्सकको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशालामा पठाइएको काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंह जनाएका छन् ।

Loading...