हुम्लामा संकलन गरिएको १२८ स्वाबको नजिता नेगेटिभ

हुम्ला । हुम्लामा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्था बुझ्नका लागि गरिएको परिक्षणको सबै नतिजा नेगेटिभ आएको छ ।
जिल्लाको सदरमुकामको सिमकोट गापाका वडाका नागरिकको भिंडभाड हुने विभिन्न कार्यालयहरूका कर्मचारी तथा फ्रन्टलाइनमा बसेर काम गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा अन्यहरूको नमुना स्वाब संकलन गरिएको थियो । संकलन गरिएका सबैको स्वाव रिपोर्ट नेगेटिभ आएपछि हुम्लामा कोरोनाको संक्रमण नभएको देखिएको हो ।

स्थानीय प्रशासन तथा स्थानीय तहले यो पछिल्लो पटक संकलन गरिएको स्वाबको अवस्था हेरेर जिल्लामा कोरोना भाइरस रोकथामका लागि रणनीति तय गर्ने तयारी गरेको थियो । यो नतिजाले सबैलाई खुशी बनाए पनि सचेत रहन विभिन्न कार्यक्रमहरू तय गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

यही भदौ १ गते जिल्लाका विभिन्न क्षेत्रबाट १ सय२८ स्वाबको नमूना सङ्कलन गरिएको हो । ती सबै नमूनाको परीक्षण नतिजा नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका डा। टसी लामाले जानकारी दिएका छन् । यो स्वाबलाई केही दिनपछि चेकजाँचका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो भने यसको नतिजा नेगेटिभ आएको छ ।

लकडाउनपछि नेपालभरी दिन दुई गुना रात चौगुना बढ्दै गएको कोरोना भाइरसको प्रकोपमा समाजमा त्रास फैलिरहेको अवस्थामा हुम्लामा कुनै पनि पीसिआर स्वावको नतिजा नेगेटिभ देखिनु हालका लागि सुखद भए पनि विभिन्न ठाउँबाट हुम्लामा आउनेहरूको कडा निगरानी गर्नु पर्ने र हाम्रा दैनिक तथा सामाजिक आचारविचारहरूमा पनि ध्यान दिनुपर्ने सिमकोट गापाका अध्यक्ष पदमबहादुर लामाको स्वीकारोक्ति रहेको छ ।

यो काम सिमकोट वरपर मात्र नमुनाका रुपमा संकलन गरिएको छ । यो प्रक्रिया जिल्लाभरी नै गर्नुपर्ने हुम्लीहरूको माग रहेको छ ।  हाल हुम्लामा देशका विभिन्न स्थान लगायतका भारत र अन्य तेस्रो देशबाट हजारौं हुम्लीहरू हुम्लामा पुगेका छन् ।

अब हुम्लामा आउने विभिन्न कार्यालय तथा अन्य क्षेत्रमा आउजाउ गर्ने कर्मचारी, शिक्षक लगायतका हुम्लीहरूमा कडा निगरानी गर्नु पर्ने देखिएको छ । हालका लागि हुम्ला ग्रीनजोनमा रहे पनि यसलाई कायम राख्न कडा रुपमा लाग्नु पर्ने देखिएको छ ।

यदि हुम्लामा कार्यरत विभिन्न सरकारी कार्यालयहरू र स्थानीय तहहरूले यस अघि मनोमानी रुपमा कोरोना भाइरसका लागि खर्च गरेको रकम अस्वाभाविक रहेको छ । अब पनि कोरोना नियन्त्रणका लागि समयमै सचेत रहन सकिएन भने भयावह स्थिति आउने छ । जो बेला हुम्लाले धान्न सक्ने छैन ।

Loading...