अमेरिका प्रवेश गरेपछि हाम्री एउटी मात्र छोरीको हिन्दू परम्पराअनुसार नेपाली केटोसँग विवाह गरिदियौँ । केही वर्षपछि नातिनीहरू भए । ‘साँउभन्दा ब्याज प्यारो’ भनेझैँ ती कलिला मुनाहरू आँखाका नानी भए, हाम्रा लागि । तोतेबोली र बालापनको बेलामा मेरी हजूरआमा रमाएझैँ हामी पनि यी अबोध प्यारा नानीहरूको बाललीलामा रमायौँ ।
समय मिलाएर हामी बूढाबूढी तिनीहरूको बेबीसिटर बन्थ्यौँ । कहिले पार्कमा खेलाउन लान्थ्यौँ, कहिले म्याकडोनाल्डमा फ्राइज खुवाउन लान्थ्यौँ त कहिले सपिङ्गमलमा घुमाउन लान्थ्यौँ । उनीहरूलाई जेजस्तो रमाइलो लाग्थ्यो, त्यही गरिदिँदा हामी ‘प्रिय ग्रान्ड पा अनि मामा’ (मलाई मामा भन्थे) बन्थ्यौँ ।
केटाकेटी रमाएको देख्दा हामी पनि रमाउँथ्यौँ । कहिले कलेजपार्कको पोखरीमा कछुवा देखाउन लान्थ्यौँ, कहिले उनीहरूलाई लिएर बड्डीपार्कमा माछालाई चारो दिन पुग्दथ्यौँ । उनीहरूको बालापनमा हामी आफ्नो दुःख भुल्थ्यौँ । अपार आनन्द लाग्थ्यो— ती भूराहरूलाई लिएर फार्मेस मार्केटमा तरकारी किन्न जाँदा । गाडीमा हालेर सग्ला बाटोमा कुदाउँदै तिनीहरूलाई स्वीमिङ्ग लाने, पुस्तकालय लाने, कार्निमल मेलामा लाने अनि मन परेको खानेकुरा किनिदिएर हजूरबा–आमाले दिनसक्ने माया दिने प्रयास गथ्र्यौं ।
समय बितेको पत्तै नपाइने ! समयसँगै ती बालशुलभ मन पनि बदलिँदै गयो । उनीहरू बढ्दै गए । अमेरिकन संस्कारले उनीहरूलाई पनि छुँदै गयो । उनीहरूको सोचाइ पनि परिवर्तन हुँदै गयो । उनीहरूलाई हुर्काउन बसेका हामी, उनीहरूको घरमा बिस्तारै बढ्ता हुँदै गयौँ । उनीहरूको कोठामा जाँदा पनि उनीहरूको अनुमति लिएर मात्र जानुपर्ने भयो । ढोका एक्कासी खोलेर पस्दा—“आइ एम् बीग गर्ल, नाउ ! नक् अन द डोर !” भन्नेजस्ता डाइलग सुनाउन थालिन् । आफ्नै रगतको सन्तानबाट यस्ता डाइलग सुन्दा हामीहरूको चित्त कुँडिन्थ्यो । ‘टिनएज भएपछि स्वतन्त्रताको पछि लाग्ने यहाँको संस्कार नै यस्तो हो’ भनेर चित्त बुझाउन थाल्यौँ ।
एकदिनको कुरा हो, नातिनी स्कुलबाट फर्किएपछि ‘भोक लाग्यो होला !’ भनेर मीठो नेपाली खाना पकाएर दिएकी थिएँ । उनले मुख बिगार्दै —“इयू ! यक्की फूड ! आइ डन्ट इट !” भनेर पन्छाइदिइन् । पिज्जा, बर्गरजस्ता फास्टफूडको स्वाद बसेपछि नेपाली खानाको महिमा नै रहेन, अब । हामीसँग झ्याम्मिएर बस्ने ती नातिनीहरूलाई स्वतन्त्रताको खोजी हुन थाल्यो । इन्टर्नेट, फोन, फेसबुक, केन्डल, आइप्याडमा बस्ने बानी लागेपछि हाम्रो उपस्थिति नै मन नपरेको सङ्केत दिन थाले, उनीहरूले । उनीहरूसँग बोल्ने समय नै रहेन अब, हाम्रा लागि । होमवर्क गरेपछि साथीसँग घन्टौँ फोनमा कुरा गरेर सुतिहाल्थे, उनीहरू ।
शनीबार र आइतबारको दिन विभिन्न क्रियाकलाप- स्वीमिङ्ग, खेलकुद गर्दै बित्थ्यो, उनीहरूको । हजूरबा–आमासँग लाडिएर गफ गर्ने समय अब उनीहरूसँग रहेन । केही अर्ती उपदेशको कुरो ग¥यो कि- “दिस इज फ्रि कन्ट्री ! डु नट माइ टिचर !” भन्न थाले । तैँ चूप, मै चूप हुन्थ्यौँ, हामी । छोइनसक्नुका भइसकेका थिए, उनीहरू । उनीहरूको स्याहार गर्न बसेका हामी, उनीहरूदेखि नै डराउनु पर्ने अवस्था आउन थाल्यो । केही प्रश्न ग¥यो कि, नमीठो जवाफ खाइहाल्नु पर्ने अवस्था आउँथ्यो । हामीलाई केही थाहा नभएको गँवार बूढाबूढीझैँ ठान्थे, उनीहरू । यस्तो व्यवहार पाउन थालेपछि ‘उनीहरूले ‘स्पेश’ खोज्न थालेको’ जस्तो लाग्न थाल्यो, हामीलाई ।
एकदिनको कुरा हो, तिनीहरूले आफ्ना बाबुआमालाई प्रश्न गरिरहेको सुनेँ-
“ह्वाई ? मामा एन्ड ग्रान्ड पा इज इन आवर होम ! तिनीहरूले आफ्नै घरमा हुनुपर्ने होइन र ? हामीसँग किन बसेका ? हाम्रा साथीहरूको घरमा बाजेबज्यै बसेको देख्दैनौँ त !”
उनीहरूको यस्तो कुरा सुनिसकेपछि मनलाई सम्हाल्दै अब हाम्रो जरुरत नपरेको सम्झी हामीले आफ्ना लागि डेरा खोज्ने बिचार ग¥यौँ ।
अमेरिकी राष्ट्रपति ओबामाले आफ्ना छोरीहरूका लागि भनेर ह्वाइट हाउसमा सासूलाई पनि लिएर गएका थिए । यो सुनेपछि केही टिप्पणी पनि भएको थियो, अमेरिकामा । यसरी ह्वाइटहाउसमा सासू लाने पहिलो राष्ट्रपति ओबामा नै बनेका थिए । प्रथम महिला मिसेल ओबामाले कतै जानुपरे छोरीहरूलाई आमाको जिम्मामा छोड्दा आफू ढुक्क हुने भएकोले यसो गरेकी थिइन् । तर अमेरिकामा- ‘सासूससूरा, छोरीको परिवार वा अन्य परिवारका सदस्य बस्नु’ भनेको ‘उनीहरूको जीवनमा स्पेश नदिनु अर्थात् हस्क्षेप गर्नु हो’ भन्ने ठानिन्छ ।
परिवार भनेको नै आमाबाबु र छोराछोरीलाई मात्र मानिन्छ । घरमा अरूका लागि स्पेश राख्न नहुने ठाउँ हो, अमेरिका । अठार वर्ष नाघेपछि छोराछोरी पनि आमाबाबुको घरमा बस्न नरुचाउने ठाउँमा हामी बूढाबूढी बस्नु अमिल्दो कुरा भयो, यहाँको लागि । ‘अमेरिकामा नेपाली सोचाइ राख्नु गलत हुँदोरहेछ’ भन्ने सोच्यौँ ।
छोरीलाई- ‘हामी अब यहाँबाट जान्छौँ’ भन्दा आश्चर्य मानिन् । यथार्थबोध गराएपछि उनले पनि कुरा बुझिन् । हामी हुँदा ‘डे केयर’ चाहिँदैनथ्यो, नातिनीहरूका लागि । हामी निस्केपछि स्कुल छुट्टी भएपश्चात् ‘डे केयर’मा राख्ने प्रवन्ध मिलाएर हामी दुवै आफ्नो बाटो लाग्यौँ ।
मेरी गोरी अमेरिकन साथी छोरीको घरमा एक हप्ताका लागि गएकी थिइन् । ‘हप्ता दिनका लागि कोठा छाडिदेऊ’ भन्दा नातिनीले बबाल गरिछन् । “यू मिन, आइ ह्याभ टु गिभ् अप् माइ रुम फार अ होल वीक ! ओऽ माइ गड !” भन्दै कराउन थालिछन् । बाबुआमा चाहन्छन्- बाजेबजु निकटमा रहून्- नाति नातिनासँग । तर, पनि उनीहरू बाबुआमाको चाहनालाई ध्यान दिँदैनन् । अमेरिकीहरू आफ्नो व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप गरेको पटक्कै मन पराउँदैनन् । मेरा अमेरिकामा जन्मिएका नेपाली नातिनीहरूले पनि त्यस्तै संस्कारको सिको गर्न थालिसकेका थिए ।
हामीले यो संस्कारलाई मनन् गर्नै पर्छ । मन दुखाउने प्रश्नै उठ्दैन । माया भनेको टाढा बस्ता पनि गरिएकै हुन्छ । नजिक बसेर हेपिएर बस्ने चाहना कसैको पनि हँुदैन । हामीले अमेरिकी समाजमा भएको व्यक्तिगत स्वतन्त्रतालाई पुस्तकमा मात्र अबलम्बन गरेर हुँदैन । व्यवहारिक रूपमा पनि ‘जस्तो देश, उस्तै भेष’ गर्नै पर्दोरहेछ । नेपालीको सोचाइ यहाँ राख्दा आफू नै मूर्ख, अधकल्चो बनिने रहेछ ।
हप्तामा एकपल्ट हामीहरूलाई भेट्न आउँछन्, उनीहरू । हामी पनि महिनामा एकपल्ट भेट्न पुग्छौँ, उनीहरूलाई । हाम्रो माया, भेटघाट टाढिएको छैन । तर अमेरिकी संस्कारमा हुर्केका अचेलका कन्फ्यूज्ड नेपालीहरूबाट हामीले के शिक्षा लिनुपर्छ भने- ‘उनीहरूको स्वतन्त्रतामा हामीले केही टीकाटिप्पणी नगरी बसेमा हजुरबुबा तथा आमा कहिले पनि ‘अनवान्टेड’ बन्न पुग्दैनन्’ भन्दा अतिशयोक्ति नहोला भन्ने लाग्दछ ।
अहिले हामी अलग्गै बस्छौँ, आधा घन्टाको दूरीमा । दिनमा एकपल्ट फोनमा कुरा गर्नै पर्ने नातिनीहरूको अब उमेरसँगै दूरी बढ्दै गएको छ । उनीहरू आफ्नै क्रियाकलापमा व्यस्त छन् । अमेरिकी स्वतन्त्रताको जीवनयापन गरिरहेका छन् । आमाबाबुले त छोराछोरीको टीकाटिप्पणी गर्न नपाइने देशमा हामी बाजेबजूले त झन् गर्ने कुरै आएन ।
मेरा श्रीमान् कहिलेकाहीँ भावुक हुँदै, आँखा टिलपिल पार्दै भन्नुहुन्छ- “कति छिटै यी बचेराहरू ठूला भए ! कति छिटै हामीबाट टाढिए ! यिनीहरू ठूला नभएको भए हामी यिनीहरूसँगै खेल्दै बस्न त पाउँथ्यौँ !”
“भावनात्मक सम्बन्ध गाँस्न नहुने देश रहेछ, अमेरिका ! किन भावुक हुनुभएको ?” भनेर सम्झाउने गर्छु, म ।
गर्मीयाममा साँझपख नातिनीहरूसँग खेलेको र माछालाई चारो दिएको तलाऊमा पुग्छौँ, हामी । तिनीहरूको सम्झनाले खुब सताउँछ- ‘उनीहरूको बालापन देखेर कति आनन्दित हुन्थ्यौँ हामी ! उफ् ! अब ती दिनहरूले पनि हामीलाई सधैँका लागि छोडेर गए । ती नातिनीहरू, कुनैबेला हाम्रा साथीझैँ समय बिताउने आधार थिए । कुनैबखत हामीलाई नदेख्दा कति छटपटाउँदै रुने गर्थे, उनीहरू । अहिले त हामी, नाम मात्रको हजूरबाआमा भयौँ । हाम्रो अभाव भएको महशूस छैन, उनीहरूमा । हाम्रा लागि समय नै सकिएजस्तै लाग्छ, उनीहरूको व्यवहार देख्दा ।’
यी सबै कुरा देखेपछि, ‘हाम्रो नेपाली संस्कार नै राम्रो हो’ जस्तो लाग्छ । ‘भौतिक संसारमा रमाएका यी टिनएजरलाई सम्झाउन सक्ने ताकत् कसको होला र ! बाबुआमाको कोखलाई चटक्क छाडेर रित्तो बनाउने ताकत भएका यी टिनएजरले हाम्रो नेपाली भावानात्मक संवेदनशीलतालाई बुझिदेलान् र ! हुन त हामीले पनि अमेरिकी संस्कारमा हुर्केका सन्ततिमा नेपालीपनको संस्कार देख्न खोज्नु मूर्खता नै हो ।’ यस्तै यस्तै कुरा सोच्दै भित्तामा झुन्डिएको नातिनीहरूको तस्वीर हेर्दै खुशी हुने बानी बसाउन थाल्यौँ, हामीले ।
सन् २०१५ को नयाँवर्ष मनाउँन छोरीज्वाइँले साथीहरूसँग रिसोर्टमा जाने योजना बनाएका रहेछन्, केही दिनका लागि । नातिनीहरूको बेबी सिटर बन्नुपर्ने खबर गरिन्, छोरीले । हामी दुवै अत्यन्त हर्षित भयौँ । ‘बल्ल बल्ल हामीसँग बस्न आउँदैछन्, यी अमेरिकी बर्न नातिनीहरू’ भन्दै उनीहरूलाई मनपर्ने खाना ‘मोमो’ बनाउँन थालेँ, म । श्रीमान्को फुरूफुरु त्यस्तै थियो । साँझपख दुवैजना आइपुगे । डिनर टाइममा डाइनिङ टेवलभरि खाना सजाउँन थालेँ । तर हाम्रो खुशीको उल्टो भयो । मेरी बास्सै ! ती हाम्रा आँखाका नानी भएका बबुराहरूलाई– हामीसँग कुरा गर्ने, लाडिने, कथा सुन्ने कुराको अर्थ नै रहेन । दुवैजनाले ल्यापटप बोकेर आएका रहेछन् । बोल्ने, हाँस्ने, कुरा गर्ने त परै जावस् ‘ह्याप्पी न्यू इयर’ भन्दै कपाकप मोमो खाएर दुवैजना ल्यापटप खोलेर पो बस्न थाले । हामी बूढाबूढी तैँ चूप, मै चूप भयौँ ।
यसरी भावानात्मक सम्बन्ध पनि औपचारिकतामा मात्र परिवर्तन भइरहेको छ, अमेरिकामा । दशैँको टीकामा पनि आइटोपल्छन् मात्र । अमेरिकी खाना खान्छन् अनि हामीले देखाएको लालोपोतो मायाको केही अर्थ राख्दैनन् । अझ उल्टै ‘हामीलाई क्रिसमस गिफ्टमा के दिने ?’ भनेर क्रिसमस डे कोचाहिँ चासो देखाउँछन् । दशैँ तिहारको अर्थ नै राख्दैनन् । उनीहरूको चाडपर्व नै होइन, ‘दशैँतिहार !’ जस्तो गर्छन् ।
हामी अमेरिकामै बस्ने हजूरबाआमासँग त उनीहरूको घनिष्टता छैन भने नेपालमा रहेका बाबुपट्टिका हजूरबाआमासँग त झन् के घनिष्टता होला ! के भावनात्मक सम्बन्ध होला ! नेपाली भाषा शैली नै छैन, उनीहरूमा । संवाद कहिल्यै हुन्न । खाली भित्तामा मात्र तस्वीरको रूपमा सजिएका छन्, नेपालका हजूरबाआमा ।
नेपाल आएपिच्छे उहाँहरूले अनि फूपा–फूपुले मनग्गे कोशेली पठाउँछन् मेरो हातमा, उनीहरूका लागि । तर ती कोशेलीहरूको अर्थ नै रहँदैन, त्यहाँ । कोशेली पाएकोमा खुशीका शब्द कहिल्यै प्रकट नभएपछि मैले थोरै मात्र कोशेली लान थालेँ, उनीहरूका लागि ।
अमेरिकी मित्र एलिन पनि दुई नातिनी ‘आर्डिन्’ र ‘बेट्सी’ भनेपछि मरिहत्ते गर्छिन् । तर ती नातिनीहरू भने वर्षको एकदिन मात्र झुल्किन्छन्, उनको घरमा । स्वेटर, मफलर बुनेर तयार पारेकी हुन्छिन्, नातिनीहरूका लागि । तिनको नातिनीहरूप्रतिको माया त्यही ऊनीको धागो र बुट्टामा सलबलाइरहेको पाउँछु, म । तर ती नातिनीहरूलाई हजूरआमाको स्नेह र ममताको अर्थ नै छैन । उनीहरू बेफुर्सदी हुन्छन् । हजूरआमाको स्नेह र ममताको कुनै मान्यता नराखेर कृत्रिम मायाको फ्लेवर मात्र दर्शाउँछन् ।
यसरी कृत्रिम मायाको फ्लेवरमा बाँचेका हुन्छन् अमेरिकी हजूरबाआमाहरू । हामी पनि अमेरिकन ढाचाको हजूरबाआमा बनेका छौँ । यहाँको संस्कार नै यस्तै छ । नातिनीहरूप्रतिको गुम्सिएका हाम्रा भावनाहरू यसरी खाली पानामा कोर्नुबाहेक अर्को उपाय छैन, हामीसँग ।