सवा करोडको चेक सहित कार्यालय प्रमुख अख्तियारको फन्दा

नेपाल बिद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख रितेश गुप्ता अख्तियारको फन्दामा परेका छन् । करिब सवा करोडको चेक सहित उनी अख्तियारको फन्दामा परेका हुन् ।

भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै बिभिन्न योजनाहरुको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी उक्त चेकहरु लिएर काठमाडौंतर्फ आउँदै गरेको सूचनाका आधारमा अख्तियारले उनलाई शनिवार नियन्त्रणमा लिएको हो । आयोगको बर्दीवासस्थित कार्यालयबाट खटिएको टोलीले गुप्तालाई शंकास्पद रुपमा एक करोड चौबीस लाख एकानब्बे हजार एक सय पैंतालीस रुपैयाँ बीस पैसा बराबरको हस्ताक्षर भैसकेका कार्यालयका चेकहरु तथा स्वीकृत भैनसकेका सोही चेकहरुसँग सम्बन्धित कागजातहरुसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले पुष्टि गरे ।

प्रवक्ता अधिकारीका अनुसार काठमाडौं आउने क्रममा सिन्धुलीमा उनलाई नियन्त्रणमा लिइएको हो । कार्यालयका चेकहरु तथा सो सँग सम्बन्धित कागजातहरु सहित नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी गराए ।

Loading...