सरकारी कार्यालय र समुदायस्तरमै कोरोना फैलिएपछि नेपालगञ्जमा तीन दिने कर्फ्यू

नेपालगञ्ज, १८ साउन । बाँकेकाे सदरमुकाम नेपालगञ्जमा निषेधाज्ञा (कर्फ्यू) जारी गरिएकाे छ । कोरोनाको जोखिम बढेपछि स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको हाे ।

नेपालगञ्जमा समुदाय स्तरमै काेराेना संक्रमण फैलिएकाे पुष्टि भएकाे छ । साथै सरकारी कार्यालयहरुमा पनि काेराेना फैलिएकाे बताइएकाे छ । सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा संक्रमण देखिएकाे थियाे । एकै दिन ३० जनामा कोरोना पाेजिटिभ भेटिएपछि जिल्ला संकट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्लाका आन्तरिक राजश्व, यातायात व्यवस्था कार्यालयका कर्मचारी र व्यस्त रहने त्रिभुवनचोकको एक मिठाइ पसल सञ्चालकमा कोरोना संक्रमण देखिएकाे छ ।

बैठकपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोनाको थप जोखिम हुन नदिन तीन दिन निषेधाज्ञा जारी गरिएको बताए । उनले अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन सबैलाइ अाग्रह पनि गरे । प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यकरूपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारवाही हुने पनि उनले बताए ।

निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने बताइएकाे छ । त्यसैगरी एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति (पास) भएका गाडी मात्र सञ्चालनमा आउन पाउनेछन् ।

पछिल्लोपटक संक्रमण देखिएका ३० जनाको सम्पर्कमा आएका ४२३ व्यक्तिको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । कन्टयाक्ट ट्रेसिङ गर्दै समुदायमा कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासन लागिपरेको छ ।

नेपालगञ्जका तीन आइसोलेसन केन्द्र र खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा गरी बाँकेका ५४ संक्रमितलाई राखिएको छ । बाँकेमा हालसम्म कोरोनाबाट दुई जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४३७ पुगेको छ ।

Loading...